• २ भदौ २०८२, सोमबार

सुकेटारमा तीन सातादेखि उडान अवरुद्ध

blog

सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको ट्विनअटर जहाज । फाइल तस्बिर

चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ३१ गते ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन साता बढी समयदेखि उडान अवरुद्ध बनेको छ । प्रतिकुल मौसमका कारण एकमात्र नेपाल वायु सेवा निगमको उडान अवरुद्ध बनेको हो ।

ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार गत साउन ५ गतेदेखि सुकेटारमा उडान अवरुद्ध भएको हो । प्रतिकूल मौसम अर्थात निरन्तरको झरी बादलका कारण प्रत्येक साताको सोमबार र शुक्रबार हुँदै आएको उडान अवरुद्ध भएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।

नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भर्ने गरेको छ । अहिले मौसम प्रतिकुल भएपछि सातामा दुई दिन हुने उडान पनि मौसमका कारण अवरुद्ध हुँदै आएको निगमको स्टेसन कार्यालयले जनाएको छ । अब सुकेटारमा उडान नियमित हुनका लागि मौसममा सुधार आउनुपर्ने निगमले जनाएको छ ।

यता नियमित उडान नहुँदा काठमाडौँदेखि ताप्लेजुङ भित्रने तथा ताप्लेजुङदेखि काठमाडौँ जाने यात्रुले सेवा लिनबाट बञ्चित हुनुपरेको छ । सुकेटारमा उडान नियमित नभएपछि जरुर यात्रा गर्नुपर्ने यात्रुले झापाको भद्रपुर र मोरङको विराटनगर पुग्नुपर्ने अवस्था रहेको छ । उडान सञ्चालन भएमा यात्रा गर्नेगरी जिल्लाका यात्रु भने निरन्तर सम्पर्कमा रहने गरेका निगमको स्टेसन कार्यालयले जनाएको छ ।