अविनाश चौधरी
धनगढी, साउन ३१ गते । थारु समुदायमा अष्टिम्की पर्व मनाइँदै छ । शनिबारदेखि दुई दिनसम्म पश्चिम तराईवासी थारू समुदायले यो पर्व मनाइ रहेका हुन् । जीवन, जगत, प्रकृति, माया स्नेह, लोक संस्कृति, जीवजन्तु, जीवनशैलीसँग जोडिएको यो पर्व थारू महिलाले व्रत बसेर मनाउने रहेका छन् ।
श्रीकृष्ण जन्माष्टमीदेखि सुरु हुने अष्टिम्की पर्वको दोस्रो अर्थात अन्तिम दिन आफ्ना विवाहित चेलीबेटीहरूलाई उपहार स्वरूप विभिन्न खानपानको अग्रासन दिने चलन रहेको छ । अस्टिम्कीको गीतमा जीवन, जगत, लोक संस्कृति, मायाप्रेम, यो धर्तीको उत्पत्तिलगायत थारू समुदायको जीवनशैली समेटिएको कैलारी गाउँपालिका–५, बैजपुरका कविता चौधरीले बताउनुभयो । यो पर्व थारू समुदायको पहिचानसँग जोडिएको उहाँको भनाइ छ ।
थारू समुदायका अनुसार अष्टिम्की पर्वमा व्रत बस्ने व्रतालुहरूले आधी रातमा भिन्सर्या भात (दर) खाएर त्यसपछि दिनभरि निराहार व्रत बस्ने चलन रहेको छ । यस पर्वको पहिलो दिन घरको भित्ता वा डेहरी (अन्न भण्डारन गर्ने माटोको भकारी) मा विभिन्न चित्रसहितको परम्परागत अष्टिम्की बनाउने गरिन्छ । अष्टिम्की भित्ते चित्रमा रोइना, डोली, कजरिक बनवाँ, रौना, पुरैनिक फूला, लाउ, रैनी मछरिया, सुख्ली कुकनियाँ, मच्छी लगायतको चित्र रहने गरेको छ । साँझपख व्रतालु महिलाले पूजाआजा गरेर अष्टिम्की टिक्ने चलन रहेको छ । परम्परागत मौलिक पहिरनमा सजिएर उनीहरूले अष्टिम्की टिकीसकेपछि अम्बा, केरा, स्याउ, काक्रो लगायतका फलफूल र पानी खाने गरेको जनाइएको छ ।
यो पर्वमा अष्टिम्की गीत गाएर व्रतालुहरू रातभरि जाग्राम बस्ने गर्दछन् । यसरी गीत गाउनुलाई ‘डेङ्ग्या गैना’ भन्ने गरेको जनाइएको छ । अष्टिम्कीको गीतमा प्रकृति, सृष्टि र मानव जीवनशैलीको गाथा गाइने गरेको साहित्यकार छविलाल कोपिलाको भनाइ छ ।
रातभरि डेङ्ग्या गाएर व्रतालुहरुले बिहान अष्टिम्की पुनः टिकेर नजिकको नदी वा खोलामा गएर अष्टिम्की सेलाउने चलन छ । त्यसपछि घर फर्केर पूजाआजा गरी भात, फुलौरी, खरिया, माछा, गेडागुडी लगायतका परिकार खाने गरेको जनाइएको छ । यी सबै परिकार उनीहरूले आफू खानुभन्दा पहिले एक भाग निकालेर अलग्गै राख्ने चलन छ । यसलाई ‘फर्हार’ भन्ने गरिएको छ ।
फर्हार गरेर अलग्गै राखेको परिकारलाई सोही दिन टाढा टाढाका गाउँसम्म रहेका आफ्ना विवाहित छोरीलाई उपहार स्वरूप दिने चलन छ । यसरी विवाहित छोरीलाई उपहार स्वरूप खानाका विभिन्न परिकार दिनुलाई अग्रासन भन्ने गरिन्छ ।
अष्टिम्की थारू महिलाको विशेष पर्व रहेको चौधरीको भनाइ छ । उहाँका अनुसार कुनै जमानामा एक घरका सात दाजुभाइ हलो बनाउन जङ्गल गएका थिए । उनीहरु जङ्गलमा हराएपछि उनीहरूका श्रीमतीहरू चिन्ताले खानापानी छोडेका थिए । घरको चुल्होमा आगोसमेत बलेन । कैयौं दिनपछि सबै दाजुभाइ सकुशल घर फर्केपछि उनीहरूका श्रीमती खुसीले गद्गद् भई नुहाइधुवाइ गरेर विभिन्न किसिमका पाकवान पकाएपछि सबै मिलेर खादैँ रमाएका थिए । त्यसपछि अष्टिम्कीको व्रत बस्ने चलन भएको किंवदन्ती थारू समुदायमा रहेको छ । यो पर्वले थारू समुदायमा आत्मियता, मेलमिलाप, आपसी प्रेम बढाउने गरेको जनाइएको छ ।