• २ भदौ २०८२, सोमबार

धामीझाँक्रीले बिरामीलाई स्वास्थ्यसंस्था पठाउने

blog

अभिमुखीकरण कार्यक्रममा सहभागी धामीझाँक्रीहरू । तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला साउन ३१ गते ।
विभिन्न देवताका धामीझाँक्रीद्वारा आफ्नोमा आउने बिरामीलाई नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गर्न पठाउने प्रतिबद्धता जनाएका छन् । धामीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनीहरूले सो प्रतिबद्धता जनाएका हुन् ।

ताँजाकोट गाउँपालिका–२ का मष्टो देवताका धामी असौजे सार्कीले चेतना फैलाउन आयोजित अभिमुखीकरण कार्यक्रमबाट धेरै कुराको जानकारी पाएको बताउनुभयो । उहाँले अब गाउँमा बिरामी भएर आउने जो कोहीलाई पहिला स्वास्थ्य चौकी उपचारका लागि जान सुझाव दिने बताउनुभयो । देवता चढेकै बेला बिरामीलाई अस्पताल गएर पनि उपचार गर्न सन्देश दिने उहाँले बताउनुभयो ।

गाउँघरमा जुनसुकै बिरामी भए पनि पहिला स्वास्थ्य संस्थामा जानुभन्दा पनि धामी बसाल्न जाने चलन अहिले पनि विद्यमान रहेको छ । पहिले जानकारी नहुँदा बिरामीलाई स्वास्थ्य चौकीमा उपचार गर्न जान सुझाव दिने नगरिएको बताउनुहुँदै उहाँले अब पहिलो स्वास्थ्य संस्था गएर उपचार गर्न सुझाव दिने जानकारी दिनुभयो ।

बिरामीको उपचार धामीबाट भन्दा पनि स्वास्थ्य संस्थामा गएर उपचार गर्न सुझाव दिनका लागि पहिले धामीझाँक्रीलाई नै चेतना फैलाउनु आवश्यक देखिएकाले उक्त कार्यक्रम राखिएको आर्युवेद स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक चाहाना शर्माले बताउनुभयो ।

गाउँपालिकामा ४० जना धामीझाँक्रीलाई राखेर चार घण्टा सामाजिक कुरितीविरुद्ध चेतनामूलक सन्देश दिने कार्य भएको उहाँले बताउनुभयो । मानिस बिरामी परे सबैभन्दा पहिले धामी बसाल्ने गरेको कुरा आइरहने भएका कारण धामीहरूलाई नै एक्कै ठाउँमा राखेर जनचेतना दिँदा प्रभावकारी हुने विश्वास गरिएकाले यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको अन्तमा सबै धामीझँक्रीले आफु काहाँ आउने बिरामीलाई उपचार गर्न स्वास्थ्य संस्था पठाउने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ  । उहाँले अब यस्तो कार्यक्रम जिल्लाभरका धामी झाँक्रीलाई दिइने बताउनुभयो । लिखित प्रतिबद्धतमा समेत उहाँहरूले हस्ताक्षर गर्नुभएको छ ।