सुधा देव
भारदह(सप्तरी), साउन ३१ गते । सप्तरी जिल्लामा श्रीकृष्णा जन्मष्टमी शनिबार धुमधामले मनाइँदै छ । राजविराज नगरपालिका–७ मा रहेको कृष्ण मन्दिरसहित जिल्लाको विभिन्न स्थानमा रहेको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
राजविराज बजारमा दर्जनौं घरमा भगवान श्रीकृष्णको मूर्ति निर्माण गरेर सर्वसाधारणले पूजा गर्दै छन् । राजविराज–२ मा आफ्नै घरमा मूर्ति स्थापना गरेका ध्रुब देवले भन्नुभयो, ‘‘भाकल भएकाले प्रत्येक वर्ष घरमै मूर्ति स्थापना गरेर भगवान श्रीकृष्णको पूजा गर्दै आएका छौँ ।’’
खासगरी सन्तान प्राप्ति, दीर्घ रोग निको तथा सु–स्वास्थ्यका लागि भाकल अनुसार माटोको मूर्ति निर्माण गरी पूजा गर्ने गरेको उहाँले बताउनुभयो ।
आजको दिन माटोको भाँडामा चोखो दही जमाएर, मखन बनाएर भगवान श्रीकृष्णलाई चढाउने चलन रहेको छ । श्रीकृष्णा जन्मष्टमी अवसर पारेर भदौ १ गते आइतबार राजविराजमा रथ यात्रा निकालिने भएको छ ।
राजविराज–९ स्थित राधाकृष्ण मन्दिर अगाडिबाट रथ यात्रा निकाल्ने योजना रहेको आयोजकको भनाइ छ । भगवान श्री राधाकृष्ण विराजमान रथसहित नगर परिक्रमा गर्ने, त्यस क्रममा स्थानीय कला संस्कृतिसँग सम्बन्धित झाँकी प्रदर्शन गर्ने र राजविराजमा रहेका मठमन्दिरको दर्शन गर्ने कार्यक्रम रहेकोे आयोजक समितिका अध्यक्ष अनिल यादवले जानकारी दिनुभएको छ ।
राजविराजमा गत वर्षदेखि श्रीकृष्णा जन्मष्टमीको अवसरमा र पहिलो पटक रथयात्रा निकालिएको थियोे । यसपालि दोस्रोपटक रथ यात्रा निकाल्न लागिएको हो ।