कर्णाली प्रदेशको जुम्ला जिल्लाको सिँजा क्षेत्रमा तीन वटा गाउँपालिका हिमा, सिजा र कनकासुन्दरी छन् । सिजा उपत्यका/दरा/क्षेत्रभित्र हालको सिँजा गाउँपालिका पनि समाविष्ट हुन्छ । यहाँ ऐतिहासिक केदारनाथ तीर्थस्थल, नराकोट र त्रिदेवल, पञ्चदेवल छन् तर विशाल खस अधिराज्यको इतिहास अध्ययनले खस साम्राज्यको राजधानी लामाथाडा रहेको बताउँछ जुन हाल कनकासुन्दरी गाउँपालिका–४ मा अवस्थित छ । जहाँ उक्त साम्राज्यका पालाका प्रशस्त ऐतिहासिक र पुरातात्त्विक स्थल भेट्न सकिन्छ । जस्तै : भग्नावशेष सिजा दरबार, कनकासुन्दरी देवीको मन्दिर, देवीको मन्दिरमा रहेका सिउबाघ, लामाका गुफा र ससाना मूर्ति, खस साम्राज्यको बेला हाट लाग्ने स्थान हाटसिजा, रिपु मल्लको सेरामा भेटिएको शिलालेख आदि ।
शिवभक्त जालान्दर राजाले शिव र जालान्दरको पहिलो अक्षर जोडेर यस उपत्यकाको नाम सिजा राखेको हो भन्ने जनश्रुति सुनिन्छन् । त्यस्तै कनकासुन्दरी मन्दिरको मूलद्वारमा रहेका सिउबाघ र तत्कालीन जालपादेवीको सुरुवाती अक्षरबाट सिजाको नामकरण हुन गएको लोकोक्ति पनि पाइन्छ । त्यसैले आधिकारिक शुद्ध शब्द सिजा हो । सिंजा/सिञ्जा/सिन्जा होइनन् ।
कर्णाली प्रदेशको (सपादलक्ष) मध्यकालीन नेपाललाई पूर्वमध्यकालीन खस अधिराज्य र उत्तर मध्यकालीन बाइसे राज्यमा विभाजन गर्न सकिन्छ । अशोक चल्लका पालामा विशाल खस अधिराज्य चार वटा प्रदेशमा विभाजित थियो । केदारखण्ड (कुमाउँ–गढवाल), कर्णाली प्रदेश, खारी प्रदेश (कैलाश–मानसरोवर) र गण्डकी प्रदेश ।
यस विशाल खस साम्राज्यको प्रथम राजा नागराज र अन्तिम राजा अभय मल्ल थिए भन्ने कुरामा दुईमत छैन तर नागराजले शासन सत्ता आफ्नो हातमा लिएको मितिमा चाहिँ भिन्नता र मतान्तर देखिन्छ । दुल्लुस्थित कीर्तिस्तम्भ अभिलेख र अन्य प्रमाण अनुसार नागराजले विक्रमको १२ औँ शताब्दीको मध्यतिर शासन सुरु गरेको पाइन्छ (बाइसे राज्यको इतिहास–२०६०, प्राडा सूर्यमणि अधिकारी) ।
केही इतिहासविद्का अनुसार उक्त शासन सुरु गरेको मिति ११ औँ शताब्दी हुन सक्ने बताइन्छ (सिजाको ऐतिहासिक रूपरेखा–२०४२, पूर्णप्रकाश नेपाल ‘यात्री’) । तथापि नाग वंशले सिजामा कम्तीमा पनि तीन सय वर्ष राज्य गरेको विश्वास गर्न सकिन्छ । अभय मल्लको प्राप्त ताम्रपत्र अनुसार उहाँको शासनकाल विसं १४४८ सम्म रहेको बताउन सकिन्छ (सिजाको ऐतिहासिक रूपरेखा–२०४२, पूर्णप्रकाश नेपाल ‘यात्री’) ।
विशाल खस साम्राज्यको राजधानी/शक्तिकेन्द्र कनकासुन्दरीको लामाथाडामा रहेको विभिन्न अभिलेखबाट सिद्ध हुन्छ । प्रमाण अनुसार अभय मल्लका धर्मपुत्र कालै मुगुका बलिराजले केही समय सिजा लामाथाडाबाटै राज्य गरी पछि जुम्लाकोटमा राज्य सारेका थिए । जसबाट सिजा खस राज्य समाप्त भई जुम्ला बाइसे राज्यको सुरुवात भयो । उक्त जुम्ला राज्य १८४६ असोज २३ गते नेपाल राज्यमा गाभियो, (बाइसे राज्यको इतिहास–२०६०, प्राडा सूर्यमणि अधिकारी) । यसर्थ हालको जुम्ला जिल्लाले सिँजा राज्य र जुम्ला राज्यको ऐतिहासिकता बोकेको पाइन्छ ।
नेपाली भाषाको जननी पनि प्राचीनकालीन सिजा हो । यस भाषाको उत्पत्ति र विकास विसं सातौँ शताब्दीमा भएको इतिहासले बताउँछ । सिजा भाषा मात्र होइन जातजाति, सभ्यता र संस्कृतिको पनि उद्गमस्थल हो । खस भाषाले राजकीय मान्यता पाएको देखिन्छ । अशोक चल्लका पालादेखि लिखित अभिलेख खस भाषामा आएको पाइएका छन् । जसको ज्वलन्त उदाहरण पादुकास्थान, दुल्लुस्थित सउना कार्कीको धर्मस्तम्भ हो ।
यस प्रकारको ऐतिहासिक महत्वलाई अन्तर्राष्ट्रिय छवि बढाउन र पर्यटन विकासमा जोड्नु हितकर हुन्छ । यसका विभिन्न उपाय र आयाम हुन सक्छन् । सिँजाका तीन वटै गाउँपालिकाले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी आधिकारिक सिँजासम्बन्धी प्रचारप्रसार गर्न जानकारी पुस्तिका प्रकाशन गर्न अत्यन्तै आवश्यक छ ।
सिजा सभ्यता संरक्षणसम्बन्धी विधेयकमा पनि सिजाको वास्तविक सङ्क्षिप्त परिचयसमेत समावेश गरी सरोकारवालासँग बृहत्तर छलफल र परामर्शसहित यथाशक्य संसद्बाट पास गराउन ढिलाइ गर्न हुँदैन । सिँजाका तीन वटै पालिकाले संयुक्त रूपमा विभिन्न सरोकारवालासँग परामर्श गरी पर्यटन क्षेत्रका विज्ञ समूहमार्फत एकीकृत सिँजाको पर्यटकीय गुरुयोजना निर्माण गरी सोही अनुसार नीति कार्यक्रम र बजेट व्यवस्थापन गर्न गाउँपालिकाले पहलकदमी लिन आवश्यक छ । राराताल घुम्न आउने पर्यटकको कम्तीमा पनि २०/३० प्रतिशत पर्यटकलाई सिँजाका मुख्य पर्यटकीय स्थल (सिजा दरबार क्षेत्र, बुडुमष्टो, विराट दरबार, पाण्डव गुफा, केदारनाथ तीर्थस्थल, चिउडीको परम्परागत राजारानीका काठेसाँघु, कोइरेलीको मनोरम रुपिछडा झरना र कालीमार्सी फाँट र स्याउ बगैँचाको कृषि पर्यटन) मा आकर्षण गराई पर्यटकीय गतिविधि चलायमान राख्न सक्ने लक्ष्य निर्धारण गर्न अपरिहार्य देखिन्छ ।
पवित्र हिमा नदीले सिँजाका कालीमार्सीका फाँट मात्रै हैन सिङ्गो नेपाली सभ्यतालाई सिर्जना गरेको छ, सिञ्चित गरेको छ । हिमा नदीको तटीय भूभागमा अवस्थित सुन्दर सिँजा उपत्यकालाई पर्यटकीय नगरीका रूपमा विकास गरी यसको समुचित लाभ तीन वटै गाउँपालिकाले लिन सक्नु पर्छ । नेपालकै ठुलो र गहिरो रारातालको प्रवेशद्वारमै अवस्थित सिँजासँग अथाह पर्यटकीय सम्भावना छन् ।
कर्णालीको ठुलो बुडुमष्टोको धार्मिक पर्यटन, सिँजाको संस्कृति देखाउने होमस्टे कार्यक्रम र सिँजादेखि रारातालसम्मको पर्यटकीय पदमार्ग विस्तारले पक्कै पनि स्थानीयको जीविकोपार्जन सुधार गरी स्थानीय तहको आन्तरिक राजस्व अभिवृद्धि गर्न सक्दछ । पर्यटकलाई कम्तीमा पनि सिँजामा चार/पाँच दिन भुलाउन सक्ने अवस्था सिर्जना गर्न आवश्यक छ । त्यसैले आधुनिककालीन सिँजा एक प्रमुख पर्यटकीय नगरीका रूपमा स्थापनार्थ तीन वटै पालिका मिलेर जान आवश्यक देखिन्छ । समग्र सिँजा, पर्यटन र आर्थिक विकासको सेतु बन्न सक्नु पर्छ ।
सिँजा साम्राज्यका संस्थापक नागराज तिब्बतको खारी प्रदेशबाट आएका र नागवंशी राजाहरू बौद्ध धर्मका अनुयायीसमेत रहेको र राजाहरूले बौद्ध धर्मको संरक्षणमा सहयोग पु¥याएको पाइन्छ । साथै काठमाडौँका गोपाल वंशावलीको उल्लेख अनुसार रिपु मल्लले विसं १३६९ मा लुम्बिनी भ्रमण गरी त्यहाँ आफ्नो कृति छोडेका थिए । सिँजा साम्राज्यको मूलभूमि लामाथाडा वा कनकासुन्दरी मन्दिरको आसपासमा ऐतिहासिक खस सिँजा सङ्ग्रहालय निर्माणतर्फ पनि तीन वटै स्थानीय तहले प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहकार्य गर्नु अत्यन्तै आवश्यक देखिन्छ ।
सन् २००८ मा युनेस्कोको सम्भावित विश्वसम्पदाको सूचीमा अट्न सफल भएको सिँजालाई विश्वसम्पदा सूचीमा समावेश गर्न तीन वटै स्थानीय तहले पहल कदमी लिई विश्वसम्पदाको सूचीमा समावेश गराउनतर्फ लाग्नु पर्छ । यस कार्यमा जुम्लालाई प्रतिनिधित्व गर्ने सांसदको भूमिका अझ विशेष हुनु पर्दछ ।
गाउँपालिकाको नामकरण उचित हिसाबले भएको देखिँदैन । यसले भविष्यमा विवाद निम्त्याउन सक्ने जोखिम छ । सिँजाको भ्रमण गर्ने पर्यटकलाई दोधार पार्ने, भ्रम र गलत जानकारी सम्प्रेषण गर्न सक्ने जोखिम पनि त्यतिकै देखिन्छ । उतिबेलै स्थानीय तह घोषणा हुँदा सिजालाई माथिल्लो सिजा, मध्यसिजा र तल्लोसिजाका रूपमा नामकरण गरेको भए, यी भ्रम र विवादको जन्म पक्कै हुने थिएन ।
तसर्थ गाउँपालिकाको नामकरणमा पुनर्विचार पो गर्ने हो कि ? जनता जनार्दनको माग र गाउँपालिकाको अगुवाइमा यो सम्भव नहोला भन्न सकिन्न ।
सिँजा दरबारको संरक्षण, प्रवर्धन र व्यवस्थापनमा न त स्थानीय, न प्रदेश न त सङ्घीय सरकारले नै पर्याप्त चासो दिएको पाइन्छ । यद्यपि पुरातत्व विभागको हालसालै सिँजामा भएको स्थलगत भ्रमण आशलाग्दो छ । सिँजाली जनताले अब छिट्टै सिँजा विश्वसम्पदा सूचीमा दर्ज हुनेमा विश्वास लिएका छन् । तसर्थ सिँजा दरबार क्षेत्रको उचित व्यवस्थापन र संरक्षणका लागि तिनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्नु पर्छ । खस अधिराज्यको साम्राज्य भएको भग्नावशेष दरबारको व्यवस्थापन र संरक्षण गर्नु सिँजाका तीन वटै पालिकाको साझा कर्तव्य हो । साथै तीन वटै पालिकाले सिँजाको इतिहास र सभ्यता प्रवर्धन र संरक्षण गर्न विद्यालयको स्थानीय पाठ्यक्रममा खस भाषा अध्यापन र सिँजाको इतिहास र सभ्यताको अध्ययनलाई समाविष्ट गर्न अपरिहार्य छ ।