प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन ३१ गते । रौतहटमा सशस्त्र प्रहरीले तस्करीको समान बरामद गरेको छ । गौर–चन्द्रनिगाहपुर सडक खण्डको शिवनगर चौकदेखि उत्तरतर्फ रहेको टिभीएस सोरुम नजिक एक गोदाम घरमा सशस्त्र प्रहरीले खानतलासी गरेर तस्करी गरेर भित्र्याइएका सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल रौतहटका सशस्त्र प्रहरी नायब उपरीक्षक अमर लामाले बताउनुभयो ।
टोलीले खानतलासी गरी चिनि एक सय ६ बोरा, सिमेन्ट नौ बोरा, मल १० बोरा र सरफ १० बोरा बरामद गरेको जनाएको छ ।बरामद गरिएका सामानको मूल्याङ्कन चार लाख २० हजार तीन सय कायम गरी शुक्रबार गौर भन्सार कार्यालय रौतहटमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक लामाले बताउनुभयो ।
सिमानाकाबाट झन्डै २० किलोमिटर उत्तरमा तस्करीको सामान पक्राउ परेपछि रौतहटमा सङ्गठित रुपमा तस्करी हुँदै गरेको प्रमाणित गर्दछ ।
तस्करले मिलोमतोमा मालसामान ओसार पसार गर्दा राज्यको करोडौं राजस्व रकम वर्षेनी सङ्कलन हुन् सकेको छैन । रौतहटमा हाल खाद्दान्न, लत्ताकपडा, भैंसी लगायतको तस्करी प्रहरी र तस्करबिचको मिलोमतोमा हुने गरेको स्थानीय बताउँछन् ।