सुर्खेत समाचारदाता
सुर्खेत, साउन ३१ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्मचारीलाई दैनिक क्यालेन्डर बनाएर खर्च बढाउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारको बजेट खर्च कम भइरहेपछि उहाँले त्रैमासिक वा चौमासिक रूपमा होइन दैनिक क्यालेन्डर बनाएर खर्च कार्यान्वयन बढाउन निर्देशन दिनुभएको हो । शुक्रबार गत आर्थिक वर्ष २०८१/८२ को समीक्षा र आव २०८२/८३ को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण कार्यक्रममा कर्मचारीलाई निर्देशन दिँदै उहाँले निराश हुनुपर्ने अवस्था नभए पनि खर्च बढाउनुपर्ने जरुरी रहेकोले दैनिक क्यालेन्डर बनाएर काम गर्न आग्रह गर्नुभयो ।
अहिले सरकारले थालेको योजना छनोटमा गम्भीर बन्न, सीमित स्रोतसाधनमा सुधारको काम गर्न र बजेट कार्यान्वयन गर्न कर्मचारीले साथ दिनुपर्ने भन्दै राजनीतिक नेतृत्व र कर्मचारीको सामूहिक कामबाटै प्रदेशको समृद्धि हासिल गर्न सकिने मुख्यमन्त्री कँडेलले जनाउनुभयो । नयाँ कानुन नबनेको, प्राविधिक जनशक्तिको अभाव, भौगोलिक कठिनाइ जस्ता समस्याले आशा गरे जति काम हुन नसके पनि विगतको तुलनामा कामको गति बढ्दै गएकोमा आफू आशावादी बनेको उहाँको भनाइ छ । देश बनाउने सारथि राजनीतिक नेतृत्व र कर्मचारी नै हुन् भन्दै उहाँले एकले अर्कोलाई दोष देखाएर पन्छिन खोजे समृद्धि हासिल हुन नसक्ने उल्लेख गर्नुभयो ।
प्रदेश सरकारको आम्दानी कम छ, सङ्घमा आउने पनि कम छ, त्यसैले त्रैमासिक वा चौमासिक कुरेर होइन, दैनिक क्यालेन्डर बनाएर बजेट खर्च बढाउनेतर्फ लाग्न र मन्त्रालय तथा कार्यालयको प्रगति बढाउन मुख्यमन्त्री कँडेलले सुझाव दिनुभयो ।
सो अवसरमा आन्तरिक मामिला तथा काननु मन्त्रालयले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै घर बिमा कार्यक्रम, पत्रकार स्वास्थ्य बिमालगायतका कार्यक्रम गर्न सफल भएको जानकारी दिएको छ । मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले कर्णालीका १५ स्थानीय तहका १६ हजार ७२ घरको घर बिमा गरेको, चार हजार ४१ जनालाई सहिद स्मृति भत्ता तथा घाइते अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण गरेको, प्रदेश विपत् व्यवस्थापन कोषमा १५ करोडभन्दा बढी रकम रहेको बताउनुभयो । साथै उहाँले गत आवमा मन्त्रालयले ७१ प्रतिशत प्रगति हासिल गरेको दाबी गर्नुभयो ।
यसै गरी उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि आफ्नो प्रगति सार्वजनिक गर्दै प्रदेशमा सबैभन्दा धेरै १२ करोड राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ । मन्त्रालयका निमित्त सचिव रमेश गिरीले मन्त्रालयले वनतर्फ १० करोडभन्दा बढी र उद्योगतर्फ दुई करोडभन्दा बढी गरी १२ करोडभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको बताउनुभयो । उहाँले मन्त्रालयमा बर्सेनि बजेट घट्दो तर प्रगति बढ्दो क्रममा रहेको भन्दै आगामी दिनमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले गत आवमा छ लाखभन्दा बढी बिरुवा उत्पादन गरिएको, ४१ हेक्टर अतिक्रमित वन फिर्ता ल्याएको, वनजयन्तुबाट पीडित भएकालाई ३३ लाखभन्दा बढी रुपियाँ राहत प्रदान गरेको उपलब्धि हासिल गरेको बताउनुभयो । सो आवमा मन्त्रालयले ७२ प्रतिशत उपलब्धि हासिल गरेको उहाँको भनाइ छ ।