• २ भदौ २०८२, सोमबार

भव्य रुपमा मनाइयो भैरव कुमारी जात्रा

blog

भैरव कुमारी जात्रा प्रदर्शन गरिँदै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 
दोलखा, साउन ३१ गते ।
परम्परागतमा रुपमा प्रत्येक वर्ष दोलखाको सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा मनाइने भैरव कुमारी जात्रा यस वर्ष पनि अत्यन्त उत्साहका साथ मनाइएको छ ।

यो जात्रा सांस्कृतिक परम्परा अनुसार भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्टिसम्म पाँच रात मनाउने चलन अनुसार गए राति सम्पन्न भएको हो ।

यहाँको राजकुलेश्वर तलेजु भवानी मन्दिर अगाडि घण्टाकर्णको स्वरुप बनाइन्छ र बाजा बजाई देवी भगवतीलाई बली पूजा गरी घण्टाकर्णलाई पनि देवी भगवतीको प्रसाद चढाएर दही चिउरा खुवाई खुकुरीले प्रहार गरी मारेर दोलखा सहरभन्दा केही पश्चिमतिरको खोल्सामा बाजा बजाउँदै लगि फ्याकिन्छ ।

किम्बदन्ती अनुसार राक्षस र देवीबिचको लडाइँ सकिएपछि विष्णु भगवान आरामका लागि सुत्नु भएको थियो । त्यही मौका पारी राक्षसहरु सक्रिय भएको देखेर भगवतीले घण्टाकर्ण राक्षसलाई मार्नु भयो । यही सम्झना स्वरुप उपत्यकामा र दोलखामा घण्टाकर्ण जात्रा मनाउँदै आइएको हो ।

यसरी घण्टाकर्णको मृत्यु भएपछि राक्षसहरु झन लडाइँका लागि तत्पर हुन थालेकाले यसलाई परास्त गर्न कालिञ्चोक भगवतीको शक्ति आवश्यक ठानेर पूजाआजा गरिन्छ ।

यही लडाइँको सम्झना गर्दै अभिनय गर्न यहँका सम्बन्धित गुठियार डापा खलक जनैपूर्णिमाको अघिल्लो दिन बाजागाजासहित कालिञ्चोक मन्दिरमा जान्छन् । भोलिपल्ट बिहानै अथवा जनैपूर्णमाका दिन बिहानै भगवतीको पूजा गरी सैन्यशक्ति प्रदान गरेको स्वरुप सल्लाका सुरिला स–साना आठ÷नौ वटा रुख लिएर आउँछन् । यसलाई सैन्यशक्तिको निशान मानिन्छ । यसलाई इन्द्र जात्राको दिन दोलखा सहरको मुख्य मुख्य आठ टोलमा ठड्याइन्छ । यो रुखको टुप्पोमा इन्द्रलाई राखिएको हुन्छ ।

कालिञ्चोकबाट फर्केपछि यहाँका सबै मन्दिरहरुको परिक्रमा गरी प्रसाद दिइन्छ । राति तीन धारास्थित  नारायण मन्दिर अगाडि उपकर्ण यज्ञ गरिरहेको समयमा राक्षस रुपि ठूलो लाखे आई यज्ञ विध्वंश गर्न खोज्दछ । तल्ला टोलको रानीपोखरीमा गङ्गालाई पानीमा लुकेको राक्षसलाई खोज्ने अभिनयमा पौडी खेलाइन्छ । ठुलो राक्षस हुने र पौडी खेल्नेलाई राँगाको आधा टाउको पुरस्कार दिने चलन आज पनि रहिआएको छ ।

साँझ परेपछि विष्णु भगवान र राजा इन्द्रले भष्मासुरलाई मारेको अभिनयको नाच भइरहेको समयमा लाखेनाच पनि नाचिन्छ । विष्णु भगवान आउने वित्तिकै लाखेहरु भाग्छन् । रातमा केटाकेटी कृष्ण र राधिका भई रासलिला नाच हुने गर्दछ । कालिञ्चोकभगवती र त्रिपुरासुन्दरीकी कान्छी बहिनी भनिने बालकुमारी बाहिर निस्कँदा उपद्रव सहन सक्ने र एकलो निस्कँदा अशोभनीय हुने ठानेर पतिको रुपमा कालो अनुहार कालो वस्त्र लगाएका कालभैरव सेतो वस्त्र धारण गरेका तरवार भिरेका घोडामा सवार राजा र उनका सहायक एक जना खुकुरी बोकेको उपद्रो मच्चाउनेलाई जालमा फसाउन जाल फालेको अभिनय गर्ने एक जना र रातो पहिरन भएको रातो बाक्लो मुकुन्डो लगाई कुमारीको रुपमा देखिन्छन् ।

सुरुमा १२ जनाको समूह बनाई कसाई कुसुलेको बाजा सहित अभिनयका साथ रातो कुमारी र भैरवलाई निकाल्ने गरिन्छ । यस बेला भूत प्रेत पनि निकालिएकाले आउनेहरुले डरले कुमारीलाई पूजा गर्न पाए तर भैरवको पूजा गर्न नभ्याएकाले उसलाई रिस उठेको रहेछ ।

भोलिपल्ट तान्त्रिक गुभाजूहरुले पूजा तथा नैवेद्य चढाए । तर अरु दिन वास्ता नगेकोमा रिसले उन्मत भई आफ्नो लिङ्ग देखाई लौ यसमा पूजा गर भन्ने आशय रहेको भन्ने किम्बदन्ती रहेको छ ।

कुमारीले विध्वंश गर्लिन् भनेर भैरवले आफूभन्दा अगाडि जान नदिई पछि राखे । यस किसिमले द्वितीयादेखि षष्टिसम्मको पाँच रातसम्म यहाँ रातको ९/१० बजेदेखि बिहानसम्म भैरवकुमारीको जात्रा हुने गर्दछ । स्थानीय तीर्थनारायण जोशीका अनुसार बिहान भित्र पस्ने बेलामा कर्णप्रिय बाजा बजिरहेका हुन्छन् । बिहान भैरवभित्र पसिसकेको हुन्छ । कुमारी बाहिरभित्र गर्दै पति भैरवलाई खोजेको अभिनय गर्दछिन् । तेस्रो पटकमा बल्ल भित्र पस्दछिन् । 

यो नाचमा १२ कुसुले र एक कसाईको ढोलक, सनाई, झ्याम्टा सहितको बाजा बजाउने गरिन्छ । कर्णप्रिय बजा र नृत्य हेर्न रातभर मानिसहरुको भीड लाग्ने गर्दछ ।

यो जात्रा टसियाटोलको मन्दिर घर र पिङगलटोलको मन्दिरबाट हुने गर्दछ । यो जात्रामा आफ्नो पति, छोराछोरी सन्तानको आयु वृद्धि, सुख सम्मृद्धिका लागि महिलाहरु व्रत बस्ने गर्दछन् । पञ्चमीको दिन व्रत बस्ने धेरै हुन्छन् । यो जात्रामा सहभागी हुनेहरुले १० पाथी धानको बिउ जाने खेत केही बारी मात्र पाएका छन् । यिनीहरु सबै शिवभक्ति परिवारका हुन् । पुजारी र गुठिायर पिङ्गलटोलका श्रेष्ठ परिवार हुन् । यो जात्रा सञ्चालनका लागि पुरान्छेटोल घर भई हाल थापाथलीमा रहनु हुने लक्ष्मण श्रेष्ठले सहयोग गर्दै आउनु भएको छ ।

यो जात्राको प्रारम्भको यकिन भने छैन । सयौँ वर्षदेखि चल्दै आएको छ । भैरवले लगाउने चाँदीको लामो सिक्री मालामा चाँदीकै कमलको पूmल जडिएको छ । यसमा नेसं ९१२ तथा विसं १८९८ मा दोलखा टसिचा टोलका विद्यानन्दले चाँदी तोला १६ को माला र करिब पाँच पाथीको खेत चढाएको भन्ने लेखिएको देखिन्छ ।