मोहनसिंह बुढा
हुम्ला, साउन ३१ गते । पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको चोयाबाट बनाइने डोको लोप हुँदै गएको छ । जङ्गलबाट घाँसदाउरा हाटबजारबाट चामल, नुन तेललगायतका दैनिक खाद्यसामग्री बोक्न प्रयोग गरिने डोकोडालो लोप हुँदै गएको हो ।
खेतबारीको मल बोक्नदेखि हाटबाट दैनिक उपभोग्यसम्मका सामग्री पिठिउँमा बोक्न प्रयोग हुने गरेको निगालोको डोकोसमेत हराउँदै गएको अदानचुली गाउँपालिका–२ का भ्याल महताराले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला गाउँनजिक बजार थिएन, दैनिक खाद्यान्नका लागि दुई/चार दिन पैदल हिँड्नु पथ्र्याे, त्यसका लागि डोको आवश्यक हुन्थ्यो, अहिले गाउँबस्तीमा गाडी पुगेपछि डोकोसँगै डोको बुन्ने सिप लोप हुँदै गएको छ ।” पहिले गाउँमा सबैले अर्गानिक खेती गर्दथे । जङ्गलबाट स्याउला ल्याउने चलन थियो । त्यसका लागि ठुलाठुला डोका बुन्ने गरिन्थ्यो । गाउँमा गाडी गुड्न थालेपछि डोको व्यवसाय विस्तारै लोप हुँदै गएको उहाँले बताउनुभयो ।
गाडी पुग्दा डोकोमा बोक्ने सामान गाडीले नै बोक्न थालेपछि डोको बुन्ने व्यवसाय विस्तारै लोप हुँदै गएको सर्केगाड गाउँपालिका–२ का जङ्ग फडेराले बताउनुभयो । काठको सामग्री, प्लास्टिकजन्य सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण हुम्लाका ग्रामीण भेगमा परम्परागत रूपमा प्रयोग गरिँदै आएका डोका, खा¥या, डाला, थुन्से, छाप्री, पाथो, टोपी, सुपो र भकारी लोप हुँदै गएका छन् । सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी सामग्री पछिल्लो समय लोप हुँदै गएका हुन् । यहाँका सिपालु व्यक्तिले पुस्तौँदेखि डोका, डाला बुनेर गाउँमा बिक्री गरी आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । पछिल्लो समयमा यसको प्रयोग गर्न विस्तारै छोडेपछि व्यवसाय नै धरापमा परेको फडेराले गुनासो गर्नुभयो ।
पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा कच्चा पदार्थ निगालो अभावका कारण यो व्यवसाय लोप हुँदै गएको हो । गाउँमा गाडी सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुका सामग्रीको प्रयोग, बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा लोप भएको छ । जेनतेन जङ्गलबाट निगोलो ल्याएर चोया काटी बनाइएका डोकासमेत बिक्री हुनै छोडेका छन् ।
एक दशकअघिसम्म ग्रामीण भेगका स्थानीयले बाँस र निगालोबाट डोको, डालोलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । उहाँले गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको बताउनुभयो । निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई पाँच सयदेखि आठ सय रुपियाँसम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । डोकोडालोको प्रयोग गर्ने समयमा यो व्यवसायबाट जिल्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकासम्म लग्दा मूल्य दोब्बर उठ्ने गरेको अनुभव फडेराको छ । युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले समालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको छ ।