• २ भदौ २०८२, सोमबार

हराउँदै परम्परागत ढिकीजाँतो

blog

खलङ्गा समाचारदाता  

दार्चुला, साउन ३१ गते । दार्चुलामा पनि विद्युत् र डिजेलबाट चल्ने मिल स्थापना भएपछि परम्परागत ढिकीजाँतो र पानीघट्टको प्रयोग घटेको छ । 

गाउँघरमा आधुनिक प्रविधि भित्रिएपछि कुटानीपिसानीका परम्परागत साधन हराउँदै गएका हुन् । अहिले गाउँ गाउँमा धमाधम आधुनिक विद्युतीय र डिजेलबाट चल्ने मिल स्थापना भइरहेका छन्  । प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेको छ । 

महाकाली–६ की जमुना रैखोलाले आधुनिक उपकरणले धान कुट्ने, तोरी पेल्ने, गहुँ, मकै पिस्ने परम्परागत मेसिन विस्थापित गरेको बताउनुभयो । “ढिकी, पानीघट्ट र जाँतोमा पिसेको अनाजबाट पकाइएका परिकार निकै स्वादिला हुन्थे,” उहाँले भन्नुभयो । विद्युतीय उपकरणले सजिलो त भएको छ, ढिकीजाँतोमा पिसेको जस्तो स्वाद नहुने उहाँले बताउनुभयो । परिवर्तित समय, प्रविधिको विकास र मानिसको परिश्रम गर्ने बानी हराउँदै जाँदा परम्परागत प्रविधि लोप हुँदै गएको उहाँको भनाइ छ । 

परम्परागत प्रविधि लोप हुँदै गएपछि पानीघट्ट, ढिकी र जाँतोमा कुटेको चामल र पिठोसमेत पाइनै छाडेको दुहुँ गाउँपालिका–१ का रामसिंह महराले बताउनुभयो ।