• २ भदौ २०८२, सोमबार

कारागार विवाद : पैँतिस कैदीबन्दी ‘डिस्चार्ज’ अन्यत्र स्थानान्तरणको तयारी

blog

अस्पतालमा उपचारपश्चात् निको भएका कैदी ।

धनगढी समाचारदाता

धनगढी, साउन ३१ गते । कैलालीको कारागार घटनामा घाइते भएका ३५ जना कैदीलाई उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको छ । विभिन्न ठाउँमा चोटपटक लागेका उनीहरूलाई केही दिन उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको हो । उनीहरू सबैको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । “लगभग सबै घाइते कैदीबन्दी निको भइसक्नुभएको छ,” उहाँले भन्नुभयो, “केहीलाई भने डिस्चार्ज गर्न बाँकी छ ।”

गत शुक्रबार राति कैदीबिच भएको हिंसात्मक झडपमा परी घाइते भएका ४८ जना कैदीबन्दीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तीमध्ये धनगढीका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । अवस्था गम्भीर रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । बाँकी ४४ मध्ये ३५ जना निको भई डिस्चार्ज भइसकेका र नौ जना डिस्चार्ज हुन बाँकी रहेको उहाँले बताउनुभयो ।  

हड्डीमा चोटपटक लागेका पाँच घाइते कैदीबन्दीको अस्पतालले शल्यक्रिया गरेको थियो । शल्यक्रिया गरिएकासहित कोरोना अस्पतालमा राखिएकामध्ये चार जना डिस्चार्ज हुन बाँकी रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । 

अस्पतालले डिस्चार्ज गरेका कैदीबन्दीलाई कैलाली कारागारमा पुनस्र्थापना गर्न सकिएको छैन । उनीहरूलाई यही कारागारमा राखे पुनः आक्रमण हुन सक्ने कारागार प्रशासन र सुरक्षा निकायको विश्लेषण छ । डिस्चार्ज भएका घाइते कैदीबन्दीलाई कैलाली कारागारमै पुनस्र्थापना गर्न कठिन भएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालमै राखिएको छ । अस्पतालमा राखिएका कैदीबन्दीको सुरक्षा सशस्त्र प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताउनुभयो । 

डिस्चार्ज भएका कैदीलाई कारागारमै राखे फेरि त्यस्तै घटना दोहोरिन सक्ने भएकाले तत्काललाई अस्पतालमै राखेको कारागारका जेलर जालन्धर भुसालले बताउनुभयो । उहाँले डिस्चार्ज भएका घाइते कैदीबन्दीलाई अन्यत्र स्थानान्तरणका लागि गृहकार्य भइरहेको उल्लेख गर्नुभयो । डिस्चार्ज भएका तीन जनालाई यसअघि नै कञ्चनपुर कारागारमा सरुवा गरिसकिएको छ । अरू कैदीबन्दीलाई पनि अन्यत्र स्थानान्तरणका लागि छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । “डिस्चार्ज भएका कैदीबन्दीलाई अन्यत्र सरुवाका लागि उनीहरूका आफन्तसँग कुराकानी भइरहेको छ,” उहाँले भन्नुभयो । 

कारागार घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले आफ्नो काम गरिरहेको छानबिन समितिको सदस्यसचिवसमेत रहेका जोशीले बताउनुभयो । कारागार घटनापछि तत्कालीन जेलर वसन्त खत्री र प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको सरुवा भएको छ । कारागारको नेतृत्व जेलर भुसाल र प्रशासनको नेतृत्व कृष्णप्रसाद लम्सालले समाल्नुभएको छ ।