रामपुर समाचारदाता
रामपुर (पाल्पा), साउन ३१ गते । लाखेनाच भन्नेबित्तिकै विशेष गरी नेवार समुदायको बसोबास रहेको स्थानमा प्रदर्शन गरिन्छ भन्ने बुझाइ छ तर मगर समुदायको बसोबास रहेको पाल्पाको निस्दी गाउँपालिका–५, बेलौजीमा ५९ वर्षदेखि निरन्तर लाखेनाच प्रदर्शन हुँदै आएको छ ।
३६ घरपरिवारको बस्ती रहेको बेलौजीमा स्थानीयले हरेक वर्ष लाखेनाच प्रदर्शन गर्दै आएका हुन् । स्थानीय हुमबहादुर सुनारी र लालबहादुर बयम्बुले २०२३ सालअघि लाखेनाचको सुरुवात गर्नुभएको थियो । पूर्वखोला–१, सिलुवा माझकोटस्थित मितको गाउँमा लाखेनाच हेर्न जाँदा रमाइलो लागेपछि गाउँमै लाखेनाचको सुरुवात गर्नुभएका सुनारीको नेतृत्वमै स्थानीयले लाखेनाच देखाउँदै आएका छन् ।
“म र लालबहादुर लाखेनाच हेरेर आएपछि नाच्न साह्रै रहर लागेर पहिलो वर्ष मुकुन्डो बनाएर आफ्नै सुरमा नाच्यौँ,” ७८ वर्षीय सुनारीले सुरुवातको समय स्मरण गर्दै भन्नुभयो, “ढोलकी हामीसँगै थियो । दोस्रो वर्ष सिलुवाको मित विष्णु श्रेष्ठको टोलीलाई बोलाएर मुकुन्डो बनाउन, लाखे सिँगार्न, बाजा बजाउन, नाच्न र पूजाको विधि सिकेपछि बर्सेनि नचाउँदै आएका छौँ ।” उहाँले रहरैरहरमा सुरु गरिएको लाखेनाचमा नयाँ पुस्ताले पनि साथ दिँदै आएको बताउनुभयो ।
सुनारीको नेतृत्वमा नमुनागाउँ बेलौजीमा मगरी संस्कृतिमा आधारित सोरठी, घाटु, कौरा, सालैजो नाच अझै पनि जीवन्त रहेको छ । बेलौजीमा नागपञ्चमीको अघिल्लो दिन साँझ विधिपूर्वक पूजासहित लाखेनाचको आरम्भ गरी पञ्चमी श्राद्धसम्म प्रदर्शन गर्ने गरिन्छ । स्थानीय युवा तिलक सारूका अनुसार बेलौजीका स्थानीयले जनैपूर्णिमाको दिन गाउँको देउरालीमा लाखे प्रदर्शनपश्चात् अन्य स्थानमा लाखेनाच प्रदर्शन गर्ने गरिन्छ । बेलौजीमा लाखेनाच सुरु भएपश्चात् निस्दी–५ को कठैडाँडा र राइकोटमा पनि लाखेनाच सुरु भएको छ ।