• २ भदौ २०८२, सोमबार

दुईदेखि चार लाख रुपियाँसम्म पुरस्कार

एसईईमा उत्कृष्ट ८६ जना विद्यार्थीलाई ललितपुर महानगरको सम्मान

blog

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई सम्मान कार्यक्रमका सहभागी । तस्बिर : ललितपुर महानगर

ललितपुर, भदौ ३० गते ।  ललितपुर महानगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउन सफल ८६ जना विद्यार्थीलाई सम्मानसहित पुरस्कार प्रदान गरेको छ । 

महानगरले शुक्रबार एक विशेष समारोहको आयोजना गरी २२ वटा संस्थागत विद्यालयका ७८ जना र ६ वटा सामुदायिक विद्यालयका ८ जना गरी कुल ८६ जना विद्यार्थीलाई सम्मान गर्नुभएको हो। 

सामुदायिक विद्यालयतर्फ ३ दशमलव ९५ जिपिएभन्दा माथि र संस्थागत विद्यालयतर्फ ४ जिपिए ल्याउने विद्यार्थीलाई जनही दुई लाख रुपियाँ नगद तथा सामुदायिक विद्यालय प्रत्येकलाई चार लाख रुपियाँ प्रदान गरिएको हो।

संस्थागत विद्यालयतर्फ धापाखेलस्थित जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गर्नुभएको छ। सामुदायिक विद्यालयतर्फ बुङमतीस्थित आदर्श सौल युवक माध्यमिक विद्यालयका ३ जनामध्ये एक जनाले ४ जिपिए र दुई जनाले ३ दशमलव ९६ जिपिए ल्याउनुभएको छ।

शैक्षिक सत्र २०८१ को एसईईमा ललितपुर महानगरको समग्र नतिजा ९१ दशमलव ५१ प्रतिशत रहेको छ। यसमध्ये सामुदायिक विद्यालयतर्फ ८१ दशमलव ०५ प्रतिशत र संस्थागत विद्यालयतर्फ ९४ दशमलव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुभएको छ। 

कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयले महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताउनुभयो। 

उहाँले कोभिड–१९ का कारण कमजोर बनेको शैक्षिक गुणस्तरलाई सुधार गर्न गरिएको यो अभ्यास विद्यार्थी र विद्यालयका लागि ठूलो प्रेरणा भएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार यो सम्मान र पुरस्कार महानगरका असल अभ्यासमध्ये एक हो र यसलाई अन्य पालिकाले पनि अनुसरण गर्न थालेका छन्।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कृत विद्यार्थी र विद्यालयलाई बधाई ज्ञापन गर्दै जीवनका अझ ठूलो परीक्षा पास गर्न निरन्तर तयारी गर्नुपर्नेमा जोड दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले विद्यार्थी, विद्यालय र अभिभावकको सामूहिक मिहेनतका कारण प्राप्त सफलतालाई महानगरले सम्मान गरेको बताउनुभयो। 

उहाँले जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो।

महानगरका प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जनले कोरोना महामारीलगत्तै सुरु गरिएको यो सम्मान र पुरस्कार कार्यक्रमले विद्यार्थी र विद्यालयलाई प्रेरणा दिएको बताउनुभयो। उहाँले प्राप्त जिपिए नै यसको सफलताको आधार भएको स्पष्ट गर्नुभयो।

जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयालले महानगरको यो कदम संस्कृति संरक्षण, हरियाली प्रवर्द्धनसँगै शिक्षा क्षेत्रमा उदाहरणीय अभ्यास भएको बताउनुभयो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विद्यार्थीलाई थप उपलब्धिका लागि शुभकामना दिँदै सकारात्मक सोचका साथ जिम्मेवार र इमान्दार बन्न आग्रह गर्नुभयो।

शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलले विद्यार्थी, शिक्षक र अभिभावकको अथक परिश्रमको कदरस्वरूप यो सम्मान गरिएको बताउनुभयो।

कार्यक्रममा पुरस्कृत विद्यार्थी तथा अभिभावकहरूले मन्तव्य व्यक्त गर्दै यस प्रकारको सम्मानले आगामी अध्ययन र जीवनमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो।