• २ भदौ २०८२, सोमबार

भ्रष्टाचाररहित सेवाबाट मात्र समृद्ध नेपाल सम्भव छः प्रधानमन्त्री ओली

blog

मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अतिथि ।

लक्ष्मी चौधरी

जनकपुरधाम, साउन ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरीको नवनिर्मित सुविधा सम्पन्न भवन उद्घाटन गर्नुहुँदै यो भवनबाट प्रहरी सेवा थप छिटो, व्यवस्थित र जनमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो।

मधेश प्रदेश प्रहरी कार्यालयद्वारा शुक्रबार जनकपुरधाममा अयोजित प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासनिक भवन उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले प्रहरीले शान्ति–सुव्यवस्था कायम गर्न, जनतालाई प्रारम्भिक न्याय र सेवा दिन सदैव अग्रसर हुनुपर्ने बताउनुभएको हो। 

प्रधानमन्त्रीले भन्नुभयो,“पहिले सुविधा सम्पन्न प्रहरी कार्यालय वा अस्पताल सम्भव थिएन, तर अहिले सम्भव भएको छ र हरेक क्षेत्रमा परिवर्तन ल्याउने प्रयास भइरहेको छ।” उहाँले प्रहरीले जनताको सेवकको भावनाले काम गर्दा मात्र देश समृद्ध र जनता सुखी बताउनुभयो।

प्रधानमन्त्रीले मधेशमा भन्सारबाट उठ्नुपर्ने राजस्व नउठ्नु, अवैध तस्करी र लागुऔषध कारोबारले प्रदेशमा गम्भीर समस्या सिर्जना गरेको बताउनुभयो। खुला सीमाको नाजायज फाइदा उठाउँदै केही तत्त्वले बालबालिकालाई लागुऔषधमा फसाउने, निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने प्रवृत्ति मौलाइरहेको भन्दै उहाँले अवैध कारोवार गर्नेलाई कडाभन्दा सजाय दिन निर्देशन दिनुभयो।

यसैगरी उहाँले संघीयता लामो संघर्ष, त्याग र बलिदानको परिणाम भएको उल्लेख गर्नुहुँदै संघीय व्यवस्था र लोकतन्त्रको रक्षा गर्दै सुशासन र विकासलाई अगाडि बढाउने दृढता व्यक्त गर्नुभयो। 

भवन निर्माणमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचाररहित सुशासन जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न प्रहरी प्रशासनलाई निर्देशन  दिनुभयो। 

कार्यक्रममा मन्तव्यकै क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेशमा आवश्यक कामकारवाही गर्न असहज भइरहेको बताउनुभयो। 

मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीको कार्यकालमै प्रहरी समायोजन पूरा भएमा प्रदेशमा सुरक्षा व्यवस्थापन र सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्नुभयो। 

मुख्यमन्त्री सिंहले मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिए पनि यसको समाधानका लागि प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिनुभयो। 

सुनकोशी–मरीन डाइभर्सन आयोजना छिटो निर्माण गरी सञ्चालनको पहल गर्न पनि प्रधानमन्त्रीसँग उहाँले आग्रह गर्नुभयो।

उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक (आइजीपी० दिपक थापाले प्रहरी जनताको सेवकको रूपमा कार्य गर्नुपर्ने उल्लेख गर्दै, देशमा शान्ति–सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण र अनुसन्धान प्रचलित ऐन कानुनभित्र रहेर कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। 


कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, श्रम तथा यातायातमन्त्री कौशल किशोर राय, स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह, वन तथा वातावरण मन्त्री संजय यादव तथा समाज कल्याण तथा खेलकुद मन्त्री प्रमोद जैसवालको उपस्थिति थियो। 

त्यस्तै, प्रतिनिधिसभा सदस्य जुली महतो, मुक्ताकुमारी यादव, प्रतिक्षा तिवारी, प्रदेश सभा सदस्य लखनदास तत्मा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो।