शंकर केसी
शारदा (सल्यान), साउन ३० गते । विद्यार्थीको सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउने उद्येश्यसहित सल्यानको दुर्गम क्षेत्र जयचौरमा आठ कोठे पक्की भवन निर्माण गरिएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिकाले-४ जयचौरस्थित लक्ष्मी माध्यमिक विद्यालयको र अस्थायी प्रहरी चौकीको भवन निर्माण गरेको हो । नवनिर्मित भवनको शुक्रबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गर्नुभएको हो ।
विद्यालय भवन छत्रेश्वरी गाउँपालिका र कर्णाली प्रदेश सरकारको समपुरक अनुदान गरेर कुल १ करोड १७ लाख रुपियाँ लागतमा निर्माण भएको गाउँपालिकाले जनाएको छ । ठेक्का प्रक्रिया मार्फत न्यु तुल्सी निर्माण सेवा, छत्रेश्वरी ५ सल्यानले सम्झौता रकम ७३ लाख ९७ हजार रुपियाँमा निर्माण सम्पन्न गरेको हो ।
आफूहरुको विद्यालयमा आधुनिक भवन निर्माण भएकोमा खुसी ब्यक्त गर्दै रोक्चा निवासी ७२ वर्षीया खिर्मी केसीले आफ्ना नाति नातिनिको पढाइ राम्रो भएको देख्न चाहेको बताउनुभयो । विगतमा पर्याप्त भवन अभावमा पठनपाठनमा समस्या हुनेगरेकोमा आठ कोठे भवन बनेसँगै धेरै समस्या हल भएको बिद्यालयका प्रधानाध्यापक बुद्धि डाँगीको भनाइ छ ।
यसैगरी अस्थायी प्रहरी चौकी जयचौरको चार कोठे भवन सात लाख ७० हजार रुपियाँमा निर्माण भएको वडा नम्बर ४ का वडा अध्यक्ष छविलाल खत्रीले जानकारी दिनुभयो ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले विद्यालय र प्रहरी चौकी दुवैको भवन निर्माणपछि अब स्थानीयस्तरमा शिक्षा र सुरक्षाको वातावरण सुधार हुने विश्वास व्यक्त गर्नुभयो । "यसले विद्यार्थीको सिकाइ वातावरण सहज बनाउनुका साथै प्रहरी चौकीको सेवा प्रवाह पनि प्रभावकारी हुनेछ," उहाँले भन्नुभयो ।
गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले दुर्गम क्षेत्रमा पूर्वाधार निर्माणका कामलाई प्राथमिकता दिइएको भन्दै शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी बढाउँदै लैजाने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले आफुहरुले चौर, बरपिपलको छहारीमा बसेर पढ्नुपर्ने अवस्था रहेको स्मरण गर्दै हाल आएर पक्की भवनमा पढ्न पाउनु सुखद रहेकोले विद्यार्थीले अनुशासित रुपमा शिक्षा आर्जन गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले स्थानिय सरकारले जग्गाको व्यवस्थापन गरेर प्रहरी चौकीको लागि भवन समेत बनाइदिएकोमा आभार प्रकट गर्दै शान्ति, सुरक्षा प्रदान गर्ने सन्दर्भमा प्रहरीलाई थप हौसला मिलेको बताउनुभयो ।
कार्यपालिका सदस्य तुल्सा बिक, पूर्व वडा अध्यक्ष नेव बहादुर खड्का, वडा सदस्यहरु पोखराज खड्का, शान्ता उपाध्याय, निर्माण व्यवसायी पुर्ण भण्डारी, पुर्व बिद्यालय व्यवस्थापन समिती, अक्षयकोषदाता, बुद्धिजीवी, समाजसेवी, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उपस्तिथि रहेको थियो । सहभागिहरुले मन्तव्य राख्दै शिक्षा क्षेत्रको बिकासमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
गत पुसदेखि सुरु भएको भवन निर्माण कार्य असारमा नै सम्पन्न भएको जानकारी दिँदै लक्ष्मी माध्यमिक बिद्यालयका अध्यक्ष चेत बहादुर वलीले अब नयाँ भवनबाट पठनपाठन सुरु हुने जानकारी दिनुभयो ।