• २ भदौ २०८२, सोमबार

भद्रगोल चिदिचौर खेल मैदान : निराश स्थानीय र खेलाडी

blog

निर्माणाधीन चिदिचौर खेल मैदान । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, साउन ३० गते । चिदिचौर सदरमुकाम तम्घासको मुटुमा छ । यो चिदिचौर खेल मैदानले कैयौँ राष्ट्रिय खेलाडी हुर्काएको छ । खेलका दृष्टिकोणले मात्रै नभएर मेला र उत्सवहरु हिसाबले चिदिचौर खेल मैदान महत्वपूर्ण छ । 

अड्डा अदालतका मिलापत्रदेखि बालबालिकाको मनोरञ्जन र पाका पुस्ता थकाइ बिसाउने ठाउँ चिदिचौर हो । तर निर्माणको कामले तीव्रता नपाउँदा स्थानीय र खेलाडी निराश भएका छन् । 

निर्माण कम्पनीले चिदिचौरमा खाल्डा खनेर मात्र छोडेका छन् । बर्सातमा पानी उम्रिएर हिलाम्ये हुने मैदानको स्थायी व्यवस्थापन गर्न जमिन तलबाटै पानी निकास गरेर मैदानको सौन्दर्यकरण गर्ने काम हुँदैछ । चिदिचौर खेल मैदान निर्माणको लागि सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले एक करोड रुपियाँको लागतमा गत वर्ष बहुवर्षीय ठेक्का लगाएको थियो । 

ठेक्का पाएको रामेछाप कन्स्ट्रक्सनले बहुवर्षे ठेक्का भन्दै म्याद सकिने आगामी असार कुरेर बसेको छ । जसको कारण चिदिचौर खेल मैदानमा राष्ट्रपति रनिङ् शिल्ड गर्न नसक्दा रुरुक्षेत्र गाउँपालिका–४ को घ्युबेँसीमा गरिएको थियो । 

बर्सेनि छात्रा फुटबल प्रतियोगिता गरिरहेको पुल्चोक युवा क्लबले सातौँ प्रतियोगिता चिदिचौर खेलमैदानकै कारण रेसुङ्गा नगरपालिका–७ को उनायचौरमा भदौ ४ गतेबाट आयोजना गरेको छ । तर टाढा, बर्सात र शौचालयलगायतका कारण समस्या हुँदा समयमै गर्न कठिन देखिएको पुल्चोक युवा क्लबका अध्यक्ष प्रकाश मरासिनीले बताउनुभयो । 

चिदिचौरमै बर्सेनि मङ्सिरमा छात्र फुटबल प्रतियोगिता सञ्चालन गर्ने गरेको फोर्टिन स्टार युवा क्लबले पनि समयमै काम नहुँदा आफूहरुलाई पनि समस्या देखिएका क्लब अध्यक्ष नारायण आचार्यले बताउनुभयो । सदरमुकामको एक मात्र खेल मैदान पनि बहुवर्षे ठेक्कामा जाँदा काम गर्नेलाई सुख र स्थानीय तथा खेलाडीलाई सास्ती भएको व्यवसायी जनक पन्तको भनाइ छ । नेता, प्रशासन, पत्रकार र नागरिक समाजसहित सबैको आँखा अगाडिको खेल मैदान अलपत्र पारेर निर्माण व्यवसायीले समय पर्खिन नहुनेमा सरोकारवालाको जोड छ । 

निर्माण कम्पनी रामेछाप कन्स्ट्रक्सनका सञ्चालक लिलबहादुर बस्नेतले बर्सात र निर्माण सामग्रीहरुको अभावको कारण काम गर्न नसकिएको बताउनुभयो । उहाँले आगामी असारसम्म काम गर्ने समय भएकाले समयमै काम हुने बताउनुभयो । 

योजना कार्यान्वयन गरिरहेको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख मित्रप्रसाद गौतमले खेल मैदानको विषयमा निर्माण व्यवसायीलाई ध्यानाकर्षण गराइरहेको बताउनुभयो । आफूहरुले रेसुङ्गा नगरपालिकासँग समन्वय र प्राविधिक सहयोग लिएर काम गरिरहेको बताउँदै सम्झौताको समयसीमा हुँदै कारबाहीको प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले निर्माण व्यवसायीले समय देखाएर संवेदनशील ठाउँको काम रोक्न नमिल्ने बताउनुभयो । उहाँले तत्काल काम नगरे बैङ्क ग्यारेण्टी निकाल्ने प्रक्रियामा अगाडि बढ्नुपर्ने स्थिति आउने भएकाले समयमै काम गर्न दबाब दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का पार्ने, बहुवर्षे बनाउनेदेखि अहिलेसम्म निकै सास्ती खेप्यौँ । काममा विलम्ब गर्ने छुट छैन ।”