तिलाचन पाण्डे
तम्घास, साउन ३० गते । गुल्मीमा प्याब्सन र एन प्याब्सनले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोध गरेका छन् ।
शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने कानून विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा समावेश भएका केही कानूनी विषयहरुप्रति आफूहरुको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।
प्याब्सन गुल्मीका अध्यक्ष राजु कुँवरले निजी विद्यालयलाई क्रमश गैर नाफामूलक बनाइने छ भन्ने शब्दलाई हटाउनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिई पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने लगायतका मागहरु राख्दै बिरोधमा उत्रिएको बताउनुभयो । प्याब्सन र एन प्याब्सन जिल्ला प्रशासन कार्यालय गुल्मी, शिक्षा विकास तथा समन्वय एकाई गुल्मी र जिल्ला समन्वय समिति गुल्मीमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापन पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले सम्बन्धित निकायमा पठाउने र समस्या समाधान गर्नमा आफूले पनि पहल गर्ने बताउनुभयो ।