• २ भदौ २०८२, सोमबार

फनिलाल यादवको हत्या अभियोगमा दुई युवक पक्राउ

blog

अभियुक्त सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थितहरु । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, साउन ३० गते ।
लहान नगरपालिका– २४ का ८५ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा दुई युवकलाई पक्राउ गरी थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख अनन्तराम शर्माले सो कुरा बारे जानकारी दिनुभएको हो ।

धनगडीमाई नगरपालिका– २ भवानीपुररमानन्द चौधरीको छोरा २३ वर्षको महेश चौधरी र त्यहि बस्ने हिरत मण्डलको छोरा वर्ष १९ का प्रशान्त कुमार मण्डललाई पक्राउ गरी साउन २८ गते जिल्ला अदालतमा थप अनुसन्धानका लागि म्याद थपिएको प्रहरी प्रमुख शर्माले जानकारी गराउनुभयो ।

यही साउन १४ गते धनगडीमाइ नगरपालिका– ११ आम चोकस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा फनिलाल यादवमाथि धारिलो हत्यार प्रहार भएको थियो । धारिलो हत्यार प्रहारबाट यादवको टाउको र कानमा चोट लागेको र उहाँको लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोही दिन राति ८ः२० बजे मृत्यु भएको थियो ।

घटनापछि इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धा टेलीले संयुक्त रुपमा अनुसन्धान गर्दा घटनास्थल नजिकै जडान भएको सिसिटिभीका आधारमा साउन २४ गते खुकुरीसहित महेश चौधरीलाई र साउन २३ गते अभद्र व्यवहार कसुरको अनुसन्धानमा इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेको प्रशान्त कुमार मण्डललाई पक्राउ गरी अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

सिरहामा लागुऔषधका कारण शान्ति सुरक्षा चुनौती थपिएको सञ्चारकर्मीहरुको जिज्ञासामा प्रहरी प्रमुख शर्माले भन्नुभयो, ‘‘लागुऔधष अन्तर्राष्ट्रिय स्तरको समस्या रहेको छ । प्रहरीको सक्रियताले मात्रै नियणत्रण सम्भव छैन । सबैको सहयोग भए मात्रै नियणत्रण गर्न सकिन्छ ।’’