रेखीराम राना
तानसेन, साउन ३० गते । पाल्पाका दुई सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी ठगीको आरोप लागेको छ । रम्भा–४, हुमिनको लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेललाई झण्डै तीन करोड रकम हिनामिना गरेको आरोप छ ।
यस्तै, तिनाउ–६, स्थित फुलबारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामबहादुर पन्थलाई पनि सहकारी संस्थाको ६० लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । आरोपी दुबै जना अहिले कानुनी कारबाहीको प्रक्रियामा रहेका छन् ।
बम्रेललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ । बम्रेलले सहकारी संस्था सञ्चालक समितिलाई झुक्याएर सहकारी संस्थाको दुई करोड ८७ लाख ५७ हजार रुपियाँ हिनामिना गरेको प्रहरीमा उजुरी परेको छ । संस्थाका अध्यक्ष सुवि विकले व्यवस्थापक बम्रेलले रकम हिनामिना गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिनुभएको छ ।
यस्तै, पन्थले सहकारी संस्थाको ६० लाखभन्दा बढी रकम अपचलन गरेको आरोप छ । सोही आरोपमा जिल्ला अदालत पाल्पाले पन्थलाई ५० लाख धरौटी माग गरेको थियो । तर धरौटी बुझाउन नसकेपछि पन्थ पुर्पक्षका लागि थुनामा रहेको जिल्ला अदालत पाल्पाका श्रेष्तेदार केशवराज पराजुलीले जानकारी दिनुभयो ।
लालीगुँरास सहकारी संस्थाले रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकामा वचत तथा ऋणको कारोबार गर्दै आएको थियो । विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरी सहकारीले वचत तथा ऋणको कारोबार गर्दै आएको थियो । यस्तै फुलबारी सहकारीले भने तिनाउ गाउँपालिकाको विभिन्न वडामा काम गर्दै आएको थियो ।