रेखीराम राना
तानसेन, साउन ३० गते । तानसेनमा ‘दोस्रो रणउजिरेश्वरी भगवती कप–२०८२’ सुरु भएको छ । ऐतिहासिक रणउजिरेश्वरी भगवती जात्राको अवसरमा श्रीनगर भलिबल क्लबको आयोजनामा बिहीबारदेखि खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।
पहिलो दिनको महिला तर्फको लिग चरणको पहिलो खेलमा न्यू होराइन क्लब तानसेनले आयोजक श्रीनगर भलिबल क्लबलाई २–० को सोझो सेटमा पराजित गर्यो । यस्तै महिला तर्फकै दोस्रो खेलमा चण्डेश्वरी युवा क्लब रिब्दीकोट–६ ले निस्दी भलिबल क्लबलाई २–० को सोझो सेटमा पराजित गर्न सफल भयो ।
तेस्रो खेलमा न्यू होराइजन तानसेनले कानुङ्ग मगर भलिबल क्लबलाई २–० को साझोे सेटमा हराएको आयोजक क्लबका अध्यक्ष कृष्ण बहादुर आलले बताउनुभयो । यस्तै पुषतर्फको उद्घाटन खेल बिहीबार सम्पन्न भएको छ । पहिलो खेल पाल्पा भलिबल क्लबले जित हात पारेको छ । बेस्टअप पाँच अन्तरगतको खेलमा तीन ३–१ को सेटमा पाल्पा भलिबल क्लबले न्यू होराइजन भलिबल क्लबलाई पराजित गरेर जित हात पारेको हो ।
प्रतियोगितामा महिला र पुरुषतर्फ पाँच÷पाँच टीम सहभागी रहेका छन् । प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्वितीय हुनेले एक लाख २५ हजार, तृतीय हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्तवना हुनेले पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न विद्यामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने कार्यक्रम छ । पुरस्कारसहित प्रतियोगिता व्यवस्थापनका लागि १८ लाख २८ हजार छ सय बराबरको खर्च अनुमान गरिएको क्लवका सचिव एवम् खेल संयोजक दिपक चौहानले बताउनुभयो ।