बाजुरा समाचारदाता
बाजुरा, साउन ३० गते । जिल्लाको हिमाली गाउँपालिका–१, बिच्छ्यामा बुधबार राति आएको बाढीपहिरोले यहाँका स्थानीयको उठिबास भएको छ । गत बुधबार बिच्छ्याखोलामा आएको बाढी घरभित्र पसेपछि बिच्छ्यावासी उठिबास भएको हो ।
बाढीका कारण अहिले यहाँका एक दर्जनभन्दा बढी घर, एक स्वास्थ्य चौकी, वडा कार्यालय र बिच्छ्या माविको भवनसमेत पूर्ण रूपमा क्षति गरेको स्थानीय उमेश रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले यहाँका दर्जनौँ घर बगाएको र अन्य घर पनि जोखिममा परेका छन् । साथै बिच्छ्याखोलामा हालेको झोलुङ्गे पुलमा क्षति गर्दा अहिले यहाँका स्थानीयलाई समेत आउजाउमा समस्या भएको छ ।” बाढीपहिरोले मानवीय क्षति नभए पनि भौतिक रूपमा भने यहाँ निकै क्षति गरेको छ । यहाँका घर, विद्यालय, पुल, बाटोलगायतका भौतिक पूर्वाधारमा निकै क्षति भएको छ । अहिले बाढीले गरेको क्षतिको मूल्याङ्कन यकिन नभएको रोकायाले बताउनुभयो ।
मानवीय क्षति नभए पनि यहाँ घर, विद्यालय, स्वास्थ्य र वडा कार्यालयको भवनमा भने ठुलो क्षति गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “बिच्छ्या हिमाली गाउँपालिकाको निकै दुर्गम ठाउँमा पर्छ । अझै के कति क्षति भएको भन्ने जानकारीमा आएको छैन । पालिकाबाट टोली घटनास्थलमा खटाइएको छ ।” जिल्ला प्रहरीका कार्यालय बाजुराका प्रमुख इकवाल हवारीले के कति जनधनको क्षति भएको भन्न्नेबारे मुचुल्का तयार भएपछि मात्र भन्न सकिने बताउनुभयो ।