• २ भदौ २०८२, सोमबार

लक्ष्य अनुसार उठेन राजस्व

blog

आन्तरिक राजस्व कार्यालय जुम्ला । तस्बिर हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 
मुगु, साउन ३० गते ।
जुम्लाको आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । राजस्व कार्यालयले लक्ष्यभन्दा १४ करोड रूपियाँ कम सङ्कलन गरेको हो । आन्तरिक राजस्व कार्यालय जुम्लाका सूचना अधिकारी सचिन पौडेलका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ६३ करोड ७१ लाख रूपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ४९ करोड ४६ लाख रुपियाँ मात्रै सङ्कलन भएको छ ।

आन्तरिक राजस्व कार्यालय जुम्लाले कर सङ्कलनसम्बन्धी लक्ष्यभन्दा बढी राखिएता पनि आवद्ध करदाताको तथ्याङ्कअनुसार कर राम्रो सङ्कलन भएको उहाँको भनाइ रहेको छ ।   

मुगु, जुम्ला र कालिकोट जिल्लामा आन्तिरक राजस्व कार्यालय जुम्लाको कार्यक्षेत्र रहेको छ । उक्त कार्यक्षेत्रमा कार्यालयले करदातासम्बन्धी अनुगमन गर्दै आएको छ । आन्तरिक राजस्व कार्यालय जुम्लाको तथ्याङ्कअनुसार हालसम्म सबैभन्दा बढी आयकरतर्फ १४ हजार एक सय ७७ जना करदाता रहेका छन् । व्यक्तिगत प्यानतर्फ १४ हजार एक सय ७७ र भ्याटतर्फ एक हजार तीन सय ९८ जना रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जानकारी दिएको छ ।

आन्तरिक राजस्व कार्यालय जुम्लाले व्यावसायीक राजस्व सङ्कलन, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क वापत राजस्व सङ्कलन गरेको छ । पसल सञ्चालन गर्ने करदाता  व्यवसायलाई राजस्व कार्यालयले करसम्बन्धी चेतना फैलाउने कार्यक्रम सम्बन्धित जिल्लामा कार्यक्रम दिँदै आएको कार्यालयले बताएको छ ।

जनशक्तिको अभावले गर्दा मुगु, कालिकोटका जिल्लामा आन्तरिक राजस्व कार्यालय स्थापना गर्न नसकिएको आन्तरिक राजस्व कार्यालय जुम्लाका कार्यालय प्रमुख प्रभाव घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यी जिल्लामा आन्तरिक राजस्व कार्यालय जुम्लाले अहिलेसम्म हेर्दै आएको छ ।’’