न्युयोर्क, साउन २९ गते । प्रणालीगत लैङ्गिक भेदभावले विश्वव्यापी रूपमा बालिका र युवा महिलाको शिक्षामा समान पहुँचमा बाधा पुर्याइरहेकाले विश्वभरका एक करोड ५० लाख प्राथमिक उमेरका बालिका हाल विद्यालय बाहिर रहेको युएन वुमनको नयाँ प्रतिवेदनले सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार हालका दशकमा प्राथमिक र माध्यमिक विद्यालय भर्ना दरमा औसतमा लैङ्गिक समानता भए पनि धेरै क्षेत्रमा असमानता उल्लेखनीय रहेको छ । केही क्षेत्रमा ४८ दशमलव एक प्रतिशत बालिका विद्यालय बाहिर छन् । केटाको तुलनामा स्थिति विशेष गरी स्पष्ट छ–प्राथमिक विद्यालयबाट बाहिर एक करोड ५० लाख बालिका र एक करोड केटा रहेको प्रतिवेदले खुलासा गरेको छ ।
पहिलेभन्दा धेरै बालिका विद्यालय गइरहेको र प्राथमिक तहपछिका प्रत्येक अतिरिक्त वर्षको शिक्षाले बालिकालाई बाल विवाहबाट बच्न, रोजगारी पाउन र राम्रो स्वास्थ्य र समग्र कल्याण हासिल गर्ने सम्भावनालाई ठुलो मात्रामा सुधार गरेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, किशोरी बालिकाले शिक्षामा बाधाको सामना गरिरहेका छन्, धेरै बाल गर्भावस्था र घरेलु जिम्मेवारीमा सहयोग गर्ने अपेक्षाका कारण माध्यमिक विद्यालय छोडिरहेका छन् ।
“पहिलेभन्दा धेरै बालिका विद्यालय गइरहेका छन् । तिनीहरूले पढ्न र लेख्न सिक्ने मात्र नभई प्राथमिक तहपछि विद्यालयमा रहने प्रत्येक वर्षले तिनीको धेरै कम उमेरमा विवाह हुने सम्भावनालाई कम गर्छ । यसले तिनीहरूको रोजगारी, स्वास्थ्य र समग्र कल्याणको सम्भावनालाई बढाउँछ । बालिका र महिलाको आफ्नो जीवनका सबै चरणमा गुणस्तरीय शिक्षा र सिकाइको समान अधिकार छ”, प्रतिवेदनमा भनिएको छ । रासस/एएनआई