कविराज घिमिरे
हिले, साउन २९ गते । नेकपा (एमाले) कोसी प्रदेश कमिटीले आधिकारिक फेसबुक, टिकटक र युट्युब एकाउन्ट सञ्चालनमा ल्याएको छ । धनकुटाको हिलेमा साउन २७ र २८ गते चलेको प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको क्रममा आधिकारिक एकाउन्ट सार्वजनिक गरिएको हो ।
त्यस्तै, प्रदेशभरको दैनिक गतिविधि समावेश गरेर साँझ सूर्य समाचार बुलेटिन प्रसारण गर्ने तयारी गरेको छ । अहिलेको समय डिजिटल युगसँगै छोटो छरितो सूचना सम्प्रेषण गर्न सामाजिक सञ्जाल उपयोग गर्ने रणनीतिअनुरूप प्रदेश कमिटीको आफ्नै फेसबुक, टिकटक र युट्युब निर्माण गरिएको प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिनुभयो ।
यो अभियानलाई जिल्ला पालिकाहरू हुँदै वडासम्म पुर्याउने उहाँको भनाइ छ । त्यस्तै धनकुटा बैठकले विधान महाधिवेशनका निम्ति सुझाव सङ्कलन गर्न कार्यदल समेत गठन गरेको छ । प्रदेश सचिव राजकुमार भण्डारीको संयोजकत्वमा सुझाव सङ्कलन कार्यदल गठन भएको हो ।
यो कार्यदलले कोशिका १४ वटै जिल्लाबाट आएको सुझावलाई सङ्कलन गरेर पार्टी केन्द्रमा पठाउने जनाइएको छ । त्यस्तै, बैठकले एक बर्से कार्य योजना पारित गरेका सचिव राजकुमार भण्डारीले जानकारी दिनुभयो ।