• २ भदौ २०८२, सोमबार

सन्तानको दीर्घायूको कामना गर्दै मनाइयो तीन छठ्ठी पर्व

blog

कपिलबस्तु नगरपालिका –६ निगालीकोटस्थित कुशको पूजा गर्दै ब्रतालु । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), साउन २९ गते । कपिलवस्तुका हिन्दु मधेसी समुदायका महिलाले आफ्ना सन्तानको दीर्घायूको कामना गर्दै विहीबार धुमधामसाथ तीन छठ्ठी  पर्व मनाएका छन् । 

घरनजिक कुश रहेको ठाउँमा गएर उहाँहरुले पूजापाठ गरी तीन छठ्ठी पर्व मनाएका हुन । पुजापाठका लागि उहाँहरु कपिलबस्तु नगरपालिका –६ स्थित निगालीकोटमा पुगेका थिए । 

पर्वका दिन बिहान ब्रतालु महिलाले महुवाको दतिवनले दाँत माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहान स्नान गरी ब्रत, पूजापाठ र भजनकिर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन् ।

कपिलबस्तु नगरपालिका –६ का ब्रतालु नन्दनी यादवले छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनी ब्रत राख्ने चलन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस पर्वमा घासेकुश, महुवा र तिन्नी नाम गरेको चामलको पूजापाठ गरी आफ्ना छोराहरुलाई टीकाटालो गर्ने गरिन्छ ।”

उहाँले तीन छठ्ठी माताको ब्रत बस्ने परिवारको फलीफाप हुने बिश्वास ब्यक्त गर्नुभयो । कपिलबस्तु नगरपालिका –६ का ब्रतालु सीता ठाकुरले तीन छठ्ठी पर्व छोरा भएका महिलाले मनाउने गरेको बताउनुभयो । छोरा जन्मेपछि यो पर्व मनाउने गरेको उहाँको भनाइ छ । 


अर्का ब्रतालु सोनमति बरईले तीन छठ्ठी माईले जसको मनोकमना पूरा गर्नुहुन्छ, त्यसले यो पर्व मनाउने गरेको बताउनुभयो । आफ्नो मनोकमना पूरा भएपछि विभिन्न किसिमका नाचगान पनि गर्नेगरेको उहाँको भनाइ छ । 

उपवास सकेपछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको भात) जंगली धानको चामलको भात र साग खाएर महिलाले ब्रत गर्ने गर्दछन् । ब्रतका बेला कुशसँगै देवीहरुको मन्दिर पुजाआजा गर्ने प्रचलन छ । पुजाका लागी चिनी नहालेको दहि, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाँउमा मुछेर प्रसाद बनाईन्छ ।

बैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआए पछि उनले आफनो नातीको बली दिए पश्चात पोखरीमा पानी निस्किएको  थियो । त्यस पछि राजाकी बुहारीले तीन छठ्ठी देवीको ब्रत राख्दा पुनः राजाको नाती जिबित भएको प्रसङ जोडी यो ब्रत गर्ने प्रचलन रही आएको छ । बिशेष गरी कुशको पुजा गर्नका लागि ब्रतालु महिलाहरु निगालिकोट, तौलिहवा स्थित प्रहरी कार्यालय बाहिर र नेपाली सेनाको ब्यारेक, चौबिस हजार नहर लगायतका कुश भएका बिभिन्न स्थानमा पुगेका थिए ।