प्रेमराज सिम्खडा
कालीकोट, साउन २९ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका-२, थामकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगन्जबाट खाद्य, खुद्रा, ग्यास तथा सिमेन्ट बोकेर आएको भे. १ ख. ४३२६ नम्बरको मालवाहक ट्रक बुधबार राति ८ः३० बजे दुर्घटना भएको हाे ।
मान्म गाउँको मेयर खोलाबाट भित्री सडक थामकोट जाने क्रममा सडक भासिएर भएको दुर्घटनामा दैलेख घर भएका चालक मान बहादुर सारु मगरको घटनास्थलमै मृत्यु भएको कालीकोट प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोट कार्यालय प्रमुख डिएसपी टेकबहादुर रावतले रातको समयमा भित्री सडकमा ट्रक लैजाँदा सडक भासिएर दुर्घटना भएको बताउनुभयो । डीएसपी रावतले भन्नुभयो, "भित्री सडकमा सहचालक भने झरेर ढुङ्गा हाल्ने क्रममा बच्न सफल भएका छन् ।" सडकबाट १ सय मिटर तल ट्रक खसेको रावतले जानकारी दिनुभयो ।
नेपालगन्जबाट खाँडाचक्र–२, का टक्क पाण्डेको खाद्य खुद्रा तथा सिमेन्ट र आफ्नो ग्यास बोकेर आएको ट्रक सामान धनीको घर पुग्ने बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताउनुभयो ।
ट्रक शुभकालिका–४ चौलागाईवाडाका भीमप्रसाद चौलागाईको हो । दुर्घटनास्थल कर्णाली राजमार्गबाट थामकोट गाउँ एक किमीको दूरीमा पर्छ । भर्खरै निमार्ण भएको सडक त्यसैमा वर्षातको पानीले गिलो भएकाले मालवाहक ट्रक भासिएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
मृत्यु भएका चालकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल कालीकोटमा राखिएको छ । घटना प्रहरीलाई समेत ढिलो गरी प्राप्त भएको थियो ।