बबई समाचारदाता
बबई (बर्दिया), साउन २९ गते । बर्दियाको राजापुर नगरपालिका शङ्करपुरमा सडक निर्माण नहुँदा स्थानीयले बर्सातमा सास्ती बेहोर्नु परेको छ भने विद्यालय जाने बालबालिकालाई समेत समस्या भएको छ । बर्सौंदेखि सडक निर्माण गर्न माग गर्दै आइरहेका ईश्वरटोल, वीरबहादुर टोल र बलबहादुर टोलका स्थानीयलाई नगरपालिका र वडाले सडक निर्माण नगरिदिएपछि सास्ती बेहोर्नु परेको हो । बर्सातमा मानिसले आफ्नै नगरपालिका र राजापुर बजार पुग्नसमेत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।
सडकमा पानीको समेत निकास बन्द हुने गरेको छ । चारैतिर खेत रहेका कारण सडकमा नै सबै पानी जम्मा हुने गरेको छ । उक्त सडक भएर सरस्वती बाल प्रावि र बुद्ध आधारभूत विद्यालयमा अध्ययन गर्न जाने बालबालिकालाई विद्यालय आउनजान समस्या भएको छ । त्यही सडकबाट विद्यार्थीसमेत विद्यालय आउनेजाने गरेका छन् । राजापुर नगरपालिका–७ बस्ने अनिता विकले सडकमा आवतजावत गर्न नै समस्या भएको र पटक पटक सडक निर्माणका लागि माग गरेको भए पनि सडक निर्माण नभएको बताउनुभयो ।
विद्यालयमा अध्ययन गर्न जाने बालबालिकालाई घर फर्कनसमेत समस्या हुने गरेको छ । वीरबहादुर टोलका स्थानीय तारा विकले पटक पटक स्थानीयले वडा कार्यालयमा पुगेर सडक निर्माण गर्न माग गरेको भए पनि वडा कार्यालयले सडक निर्माण नगरेको गुनासो गर्नुभयो । उता सडक निर्माण नभएपछि स्थानीयले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
राजापुर नगरपालिका–७ का वडाध्यक्ष रामु थारूले सडक निर्माण गर्न पटक पटक कोसिस गरेको भए पनि स्थानीयको विवादका कारण सडक निर्माण हुन नसकेको बताउनुभयो । उक्त सडक भएर स्थानीय भारतीय जङ्गल र दाहसंस्कारका लागि नदीसमेत जाने गर्छन् । अहिले पनि उक्त सडकको प्रयोग गर्ने ५० घरधुरी ईश्वरटोल, बहादुरटोल र बलबहादुर टोलमा बसोबास गर्दै आएको छ ।