• २ भदौ २०८२, सोमबार

रङ्गशाला निर्माणको कार्य सुस्त

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), साउन २९ गते । जुम्लामा करिब दुई वर्षअघि सुरु भएको रङ्गशाला निर्माण कार्य अझै अपूर्ण छ । प्रदेशस्तरीय खेलकुद पूर्वाधारका रूपमा निर्माण गरिएको यो परियोजनाको हालसम्म करिब ४० प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । यसले खेलाडीलाई दैनिकि प्रशिक्षणमा समस्या भएको छ ।

राम्रो खेल मैदान नहुँदा जुम्लाका खेलाडीले दुःख झेलिरहेका छन् । जुम्लाको रङ्गशाला मात्र होइन जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रहेको प्यारापिट निर्माणमासमेत ढिलासुस्ती भएको छ । चन्दननाथ नगरपालिका–५ स्थित राजसिममा निर्माण भइरहेको रङ्गशालाको ग्राउन्ड लेभलिङ, चारैतिरको पर्खाल र केही आधारभूत संरचना निर्माण भए पनि दर्शकदीर्घा, ड्रेसिङ रूम, शौचालय र अन्य आवश्यक सुविधा निर्माण सुरु भइसकेको छैन ।

निर्माणको म्याद २०८२ भदौ मसान्तसम्म तोकिएको भए पनि हालको कामको गति हेर्दा तोकिएको समयमै सम्पन्न हुने सम्भावना कम देखिएको छ । चन्दननाथ नगरपालिका–५ स्थित राजसिममा २०८० वैशाख ५ गतेबाट सुरु भएको रङ्गशाला निर्माण अन्तर्गत हाल प्यारापिट, तल्लो भवन र मैदान सम्याउने काम मात्र भएको छ । सम्झौतानुसार दुई वर्षभित्र रङ्गशालासहितका अन्य पूर्वाधार तयार हुनुपर्ने थियो । 

तर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति २२.३८ प्रतिशत मात्र पुगेको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सबइन्जिनियर चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । यो परियोजनाको ठेक्का कवीन्द्र निर्माण सेवाले पाएको छ । कुल लागत ४० करोड ६२ लाख रुपियाँमा रङ्गशालासहित सडक कालोपत्रे, पक्की भवन तथा अन्य ११ वटा संरचना निर्माणको योजनाको जिम्मेवारी लिएको छ ।