• २ भदौ २०८२, सोमबार

राष्ट्रिय परिचयपत्र बनाउन समस्या

blog

फाइल तस्बिर

रलिङ समाचारदाता

रलिङ (हुम्ला), साउन २९ गते । गाउँ गाउँमा टोली खटाएको भए पनि नागरिकता र मतदाता परिचयपत्रमा भएका विवरण नमिल्दा राष्ट्रिय परिचयपत्र बनाउन समस्या भएको छ । स्थानीय नागरिकले यसअघि नागरिकता र मतदाता परिचयपत्र बनाउने क्रमममा सम्बन्धित निकायको चरम लापर्बाहीका कारण सेवाग्राहीले हाल राष्ट्रिय परिचयपत्र बनाउनमा सास्ती खेपेका हुन् ।

गाउँबाट आउने स्थानीय निरक्षर हुने र उनीहरूले बनाएको प्रमाणमा हेर्न नजान्ने भएपछि आफूहरूले यतिबेला राष्ट्रिय परिचयपत्र बनाउनमा धोका खाँदै आएको चङ्खेली गाउँपालिका–६, कोर्का गाउँका स्थानीय खड्क बुढाले गुनासो गर्नुभयो । स्थानीय बुढाका अनुसार आफ्नो नागरिकतामा पत्नीको नाम हुनुपर्ने ठाउँमा आमाको नाम, आमाको नाम हुनुपर्ने ठाउँमा बाजेको नाम लेखेका कारण यतिबेला आफ्नो राष्ट्रिय परिचयपत्र बनाउन समस्या भएको हो ।

उक्त समस्याका कारण एक दिन लगाएर सदरमुकाम सिमकोट पुगेका बुढाको आर्थिक खर्च मात्रै भयो तर राष्ट्रिय परिचयपत्र बनेन । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय जस्तो सरकारी निकायमा बौद्धिक, क्षमतावान् र गुणस्तरीय शिक्षा हासिल गरेका कर्मचारी नभएकै कारण हाल आएर आफूलगायत हुम्ला जिल्लाका अधिकांश सर्वसाधारणले दुःख भोग्नु परेको उहाँले बताउनुभयो । जसका कारण राष्ट्रिय परिचयपत्र वितरणमा समेत ढिलाइ भएको स्थानीयले बताएका छन् । यसअघि नागरिकता बनाउँदा हचुवाका भरमा बनाइएकाले यतिबेला राष्ट्रिय परिचयपत्र बनाउन निकै ढिलाइ भएको छ । राष्ट्रिय परिचयपत्र बनाउँदा सक्कलै नागरिकता आवश्यक पर्ने र सोही अनुसार बनाउनुपर्ने भएकाले कसैका नागरिकता नम्बर नमिल्ने, कसैको जारी मिति नमिल्ने त कसैका जन्ममिति नै नमिल्दा धेरैको नागरिकता सच्याउँदै परिचयपत्र बनाउँदा निकै ढिलाइ हुने गरेको पाइएको छ । 

केही दिनदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोली हुमलाको दुर्गम ग्रामीण गाउँबस्तीमा पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्दै आएको छ तर त्यहाँ सबै नागरिकको राष्ट्रिय परिचयपत्र बन्न सफल हुन सकेको छैन । हुम्लाको सात वटै पालिकामा विभागले एक/एक जना खटाई गाउँपालिकाका अन्य कर्मचारीको सहयोगमा यतिबेला वडा वडामा गएर राष्ट्रिय परिचयपत्र बनाउन र पुरानाको कार्डसमेत वितरण गरिँदै आएको छ ।

नागरिकतामा भएको त्रुटि सच्याउनका लागि जिल्ला प्रशासन कार्यालमा वा इलाका प्रशासन कार्यालयमै गएर नागरिकता बनाउने वा सच्याउनुपर्ने भएपछि ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको छ । यसअघि गाउँ गाउँमा गएर जिल्ला प्रशासन कार्यालयको घुम्ती टोलीले बनाएका नागरिकतामा पनि धेरै त्रुटि देखिएको छ ।

उक्त विषयमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दसँग बुझ्दा उहाँले जिल्ला प्रशासन कार्यालय हुम्लाको अभिलेखमा रहेको विवरण र नागरिकतामा रहेको विवरण फरक परेमा जिल्ला प्रशासन कार्यालय हुम्लाले कानुनले सच्याउन मिल्नेसम्मको विवरण सच्याउन सकिने बताउनुभयो । यदि कानुनले नमिल्ने भए सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार राष्ट्रिय परिचयपत्र बनाउन सकिने सहायक प्रमुख जिल्ला अधिकारी चन्दको भनाइ छ ।