• २ भदौ २०८२, सोमबार

ग्रामीण सडक जोखिमपूर्ण

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, साउन २९ गते । अविरल वर्षाले यहाँका ग्रामीण सडकमा पहिरो खसेपछि सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ । जाजरकोटका सात वटा स्थानीय तहका गाउँबस्तीमा पुग्न खनिएका सडकमा अविरल वर्षाका कारण पहिरो खसेपछि यात्रा जोखिमपूर्ण भएको हो । 

स्थानीय जनतालाई यातायातमा सहज बनाउन खनिएका सडकमा पहिरो खसेपछि आउजाउ गर्न डराउनुपर्ने अवस्था छ । भिरालो जमिन, भौगोलिक विकटता गाउँबस्तीमा जनतालाई सडक सञ्जालमा जोड्न सरकारले करोडौँ रकम लगानी गरी निर्माण गरेका सडक अविरल वर्षाका कारण क्षतिग्रस्त भएका छन् । नलगाड नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिकाका ग्रामीण बस्ती तथा जाजरकोट खलङ्गादेखि स्थानीय तहसँग जोडिएका ग्रामीण सडक पहिरोले भत्किएका छन् । 

बारेकोट गाउँपालिका–८, लैखमकी रिता देवकोटाले नलगाड नगरपालिका–५, कालीमाटी–खारा–लैखम हुँदै बारेकोट गाउँपालिका अन्तर्गत लैखम गाउँमाथिबाट पहिरो खसेपछि जोखिमपूर्ण यात्रा गर्नु परेको बताउनुभयो । भूकम्पले चर्किएको जमिन गाउँबस्तीमा जान खनिएका सडकबाट आएको भलपानीले पहिरो गएपछि चिरा चिरा भएको छ । उहाँका अनुसार गाउँबस्ती सडक सञ्जालसँग जोड्न हचुवाको भरमा खनेका सडकले जोखिम बढाएको छ । लैखम गाउँ तलको पहिरोले सडक अवरुद्ध गरेको छ । लगातार पानी आएपछि चिरा चिरा परेका पहाड खस्दा बस्ती नै जोखिममा परेका छन् । लैखमगाउँका बासिन्दा पहिरोको जोखिम भएपछि त्रसित बनेका छन् । लामो समय खाराखोलामा पुल नबनेर आवागमनमा सास्ती पाउने गरेका सर्वसाधारणलाई बर्खामा जोखिम यात्रा गर्नु परेको छ । 

नलगाड नगरपालिका–५, कालीमाटी–खन्टाकुरा हुँदै बारेकोट जोड्न सडक, कालीमाटी–लहँ खाल्चौर जोडिएको सडक बर्खाको पानीले क्षतविच्छेद बनाएपछि सर्वसाधारणलाई स्थानीय तहको प्रशासनिक केन्द्रमा पुग्न पनि समस्या हुने गरेको छ । नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्रीबहादुर पन्तले केही दिनअघि मर्मत गरी सडक खुलाए पनि भिरालो जमिन बर्खाको भलपानीले ठाउँ ठाउँमा पहिरो सडक चिरा पर्दा आउजाउ ठप्प भएको बताउनुभयो । गाउँबस्तीमा खनिएका ग्रामीण सडक पहिरोले अवरुद्ध भएपछि बालबालिका विद्यालय जान, बिरामीलाई स्वास्थ्य संस्था पुग्न असहज भएको छ । गाउँबस्तीका गर्भवती, सुत्केरी महिला, बालबालिका, सरकारी कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिले सास्ती पाउने गरेका छन् ।