• २ भदौ २०८२, सोमबार

पोखरा महानगर र कोरियन विश्वविद्यालयबिच शैक्षिक सहकार्य

blog

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यक र गणतन्त्र कोरियाको युङजिन विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङ बुधबार समझदारीपत्रमा हस्ताक्षरपछि । तस्बिरः पोखरा महानगर प्रमुखको सचिवालय

फडिन्द्र अधिकारी

लेखनाथ, साउन २८ गते । कास्कीको पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको युङजिन विश्वविद्यालयबिच प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति आदानप्रदानसम्बन्धी समझदारी भएको छ। समझदारीपत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गर्नुभएको हो ।

शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै मानव संशोधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिनबिच अनुकूल शैक्षिक कार्यक्रम, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी हुनेछ । यसअघि पनि कोरियन सरकार र कोरियन एजेन्सीहरुको सहयोगमा पोखरामा थुप्रै परियोजना सञ्चालनमा छन् ।

नगरप्रमुख आचार्यले समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित हुने जनाउँदै उहाँले पोखरा महानगरपालिकाले त्यसमा आवश्यक सहजीकरण गर्ने वाचा गर्नुभयो ।

युङजिन विश्वविद्यालयका प्राध्यापक चोइ जेइयोङले पोखरा महानगरपालिकासँगको सहकार्यमा आफूहरू यहाँको शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको जनाउनुभयो । प्राविधिक शिक्षा, मानव संसाधन र पारस्परिक लाभका क्षेत्रमा पोखरा महानगरसँग सहकार्य हुने उहाँको भनाइ छ । सहरी विकास, पर्यटन, दिगो अभ्यासलगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनाहरू सञ्चालन हुने समझदारीमा उल्लेख छ ।