काठमाडौँ, साउन २७ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बासडर नियुक्त हुनुभएको छ ।
युवा खेलाडी छुन्जुले अब कलेजको शैक्षिक तथा खेलकुद गतिविधिको प्रतिनिधित्व गर्नुहुनेछ ।
मंगलबार कलेजमा आयोजित कार्यक्रममा उहाँलाई ब्रान्ड एम्बासडर घोषणा गरिएको हो । कलेजले युवा प्रतिभालाई प्रोत्साहन गर्ने र शिक्षा तथा खेलकुदबीचको सम्बन्धलाई अझ बनाउने विश्वास राखेको कलेजले जनाएको छ ।
कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, कलेजका शिक्षक–विद्यार्थी तथा खेलप्रेमीहरूको उपस्थिति थियो ।
कार्यक्रममा कलेजले उहाँलाई नगद र मायाको चिनो सहित सम्मान गरेको थियो । ब्रान्ड एम्बासडरको पारिश्रमिकबापतको नगद रकम भने सार्वजनिक गरिएको छैन ।
गत वर्ष एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएका छुन्जुले छोटो समयमै आफ्नो खेल कौशलका कारण प्रशंसकहरूको मन जित्न सफल हुनुभएको हो ।