• २ भदौ २०८२, सोमबार

ताप्लेजुङ गोल्डकपः फिदिममाथि सलहेसको गोल वर्षा

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २७ गते। अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा मधेश प्रदेशको चर्चित सलहेस युवा क्लब सिराहा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै विजयी भएको छ। मङ्गलबार भएको खेलमा ६–० को फराकिलो गोलअन्तरले फिदिमलाई पराजित गर्दै सलहेसले जित निकालेको हो।

फिदिमको फितलो खेल प्रदर्शनको फाइदा उठाउँदै सलहेशले फराकिलो गोलअन्तरले जित निकाल्न सफल भएको हो। सलहेस विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ। यसअघि भारत, सिलिगुढीको लिजेन्ट फुटबल एकेडेमीलाई पराजित गर्दै चर्च ब्वाइज क्लब ललितपुर सेमिफाइनल पुगेको छ।

यस्तै आयोजक टोली तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै द योङ ब्रदर्स क्लब इटहरी र साहारा क्लबलाई पराजित गर्दै रेड स्टार फुटबल क्लब झापा सेमिफाइनल प्रवेश गरेका छन्। अब चर्च ब्वाइज क्लब र द योङ ब्रदर्स क्लबबिच बुधबार पहिलो सेमिफाइनल खेल हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ।

प्रतियोगिताको दोस्रो खेल रेड स्टार फुटबल क्लब र सलहेस युवा क्लबबिच बिहीबार हुने छ। यसवर्ष प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ। त्यस्तै उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ। 

प्रतियोगितामा सर्वोत्कृष्ट छनोट हुने खेलाडीले यसवर्ष १५० सिसिको यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो। लाखेजात्राको अवसरमा साउन २४ गते शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल साउन ३१ गते हुने छ।