रेखीराम राना
तानसेन, साउन २७ गते । पाल्पामा कुटपिटबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–७, पालुङ्मैनादीका ४० वर्षका रामबहादुर अर्घाली रहेको प्रहरीले जनाएको छ ।
गत साउन २३ गते स्थानीय भुपिन्द्र खाम्चा र अर्घालीबीच सामान्य विवाद खाम्चाले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका अर्घालीलाई २५ गते तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । साउन २६ गते उपचारपछि अर्घाली आफूखुसी घर फर्किएकोमा सोही दिन राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्घालीको मृत्युपछि खाम्चालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो । अर्घालीको शव पोष्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रधानले बताउनुभयो । साथै घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।