• ४ वैशाख २०८१, मङ्गलबार

बीमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न बीमा बोर्डको अनुरोध

blog

काठमाडौं, असार ९ गते । बीमितहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न सम्पूर्ण सेवा प्रदायक संस्थालाई स्वास्थ्य बीमा बोर्डले अनुरोध गरेको छ ।

बिहीबार प्रेस विज्ञप्ति निकाल्दै बोर्डले स्वास्थ्य बीमा नियमित रुपमा भुक्तानी गर्ने भन्दै बीमितहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रभाह गर्न सेवा प्रदायक संस्थालाई अनुरोध गरेको हो ।

धेरै जस्ता ठूला अस्पतालले बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेसँगै बोर्डले यस्तो सूचना निकालेको हो ।

बीमितहरुलाई नियमितरुपमा सेवा प्रदायक गरिरहेको सम्बन्धमा सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरुप्रति बोर्डले धन्यवाद प्रकट गरेको छ ।

विज्ञप्तिमा “हाल केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले आर्थिक वर्षको अन्तमा भुक्तानी नहुने हो की भन्ने आशङ्कमा सेवा स्थगन गरिनेछ भन्ने सूचना प्रकाशित गरेको पाइएको छ तर स्वास्थ्य बीमा कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई बोर्डमा प्रप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था छ र परीक्षण भएका दाबीहरुको बाह्रै महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।” उल्लेख छ ।

सरकारले पाँच वर्षअघि सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कैलाली जिल्लाबाट ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो ।

स्वास्थ्य सेवा प्रदायक बीमितलाई सेवा प्दान गरिसकेपछि सो वापतको भुक्तानीको लागि बीमा व्यवस्थापन सूचना प्रणाली बीमा बोर्डमा पेश गर्नु पर्ने बोर्डले जनाएकोे छ ।

यसरी पेश गरेका दाबीहरु स्वास्थ्य बीमा बोर्डबाट नियममानुसार परीक्षण गरेपछि मात्रै भुक्तानी गरिने नियम छ ।

आर्थिक वर्ष  २०७८/७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख नौ हजार ५६ संस्थाका दाबी र चालु आर्थिक वर्षका दाबी ३३ लाख ७५ हजार ८३७ गरि कुल ५२ लाख ८४ हजार ८९४ सङख्याका दाबीहरु परीक्षण गरी रु आठ अर्ब १३ करोड भुक्तानी भइसकेको छ । बीमा बोर्डमा हाल दैनिक हुने दाबी बढ्दोक्रममा रहेको कारण दाबी प्रविष्ट हुने र दाबी परिषण गर्ने अनुपातमा तादम्यता मिलाउन जनशक्तिको अधभावमा केही बिलम्ब हुन गएको जनाएको छ ।

आगामी आर्थिक वर्षमा यस कार्यलाई वैज्ञानिक प्रविधि अपनाई परीक्षण गर्ने तयारी भइरहेको जनाएको छ । चालु आर्थिक वर्षको जेठ १५ गतेसम्मको १८ लाख ५३ हजार नौ सय ५३ वटा दाबीलाई प्राथमिकतासाथ परीक्षण गर्ने कार्य भइरहेको छ ।

सरकारले एउटा परिवारले तीन हजार ५०० रुपियाँको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको पाँचजना सदस्यको बीमाको सेवा लिन पाउने व्यवस्था रहेको छ ।

हाल देशभरका ७७ जिल्लामा ७४६ वटा स्थानिय तहका करिब ५६ लाख ३९ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको बोर्डले जनाएको छ ।

हाल सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट दैनिक २५ देखि ३० हजार सङ्ख्यामा दाबी गरिएको छ । देशभरका ४५० वटा सेवा प्रदायक स्वास्थ्य संस्थासाग बोर्डले सम्झौदा गरी बीमा कार्यक्रम सञ्चालन रहेको छ ।