• ७ वैशाख २०८१, शुक्रबार

पाल्पामा अधिकांशले निर्वाचन खर्च बुझाएनन्

blog

रेखीराम राना

पाल्पा, असार ९ गते । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा समेत अधिकांश उम्मेद्वारले खर्च विवरण बुझाएका छैनन् । पाल्पाका दशवटा स्थानीय तहमा उम्मेद्वार बनेका एक हजार ७२ जनामध्ये चारसय १३ जनाले मात्रै खर्च विवरण जिल्ला निर्वाचन कार्यालय पाल्पामा बुझाएको सो कार्यालयले जनाएको छ ।  

हालसम्म छ सय ५९ जनाले निर्वाचनसम्बन्धी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका  छैनन् । निर्वाचन सकिएको ३५ दिनभित्र निर्वाचनताका उम्मेद्वारले गरेको खर्च विवरण बुझाउनुपर्ने निर्वाचनसम्बन्धी ऐनमा व्यवस्था छ । 

निर्वाचनका बेला उम्मेद्वारले आयोगले तोकेको खर्चको विवरण समयभित्र बुझाउन अधिकांशले आनाकानी गरेको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताउनुभयो । समयसीमाभित्र निर्वाचनसम्बन्धी खर्चको विवरण बुझाएका उम्मेद्वारको विवरण आयोगमा इन्ट्री गर्ने काम भइरहेको अर्यालले बताउनुभयो । 

निर्वाचनमा पराजित भएका भन्दा निर्वाचनमा विजयी भएका अधिकांश उम्मेद्वारले निर्वाचनमा भएका खर्चको विवरण बुझाउन आनाकानी गरिरहेको आयोगको भनाइ छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी कल्पना पौडेलका अनुसार हालसम्म तानसेनका ७४ जना, रामपुरका १०८ जना, निस्दीका ३७ जना, पूर्वखोलाका ३१ जना उम्मेद्वारले निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् । 

यस्तै, रम्भाको ८ जना, बगनासकालीका ७१ जना, रिब्दीकोटका ३७ जना र रैनादेवी छहराका ४७ जनाले असार ६ गतेसम्म निर्वाचनमा भएको खर्च विवरण बुझाएको पौडेलले बताउनुभयो । माथागढी र तिनाउका उम्मेद्वारले भने हालसम्म एक जनाले पनि विवरण बुझाउन नआएको बताउनुभयो । 

समयभित्रै निर्वाचनसम्बन्धी खर्च विवरण नबुझाएका उम्मेद्वारलाई आयोगले ऐनअनुसार कारबाही गर्ने प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी अर्यालले बताउनुभयो ।