राधा लुइटेल
फिदिम, साउन २७ गते । पाँचथर जिल्ला अदालतले पाँचथरको फिदिममा असार २८ गते एकजना युवती माथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाँच युवकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला न्यायधि कुमार मास्केको इजलाशले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
सदरमुकाम फिदिमकै ०२–८१/८२ (२९) लाई होटलमा बोलाएर सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले पाँचथर फिदिम निवासी अनिल योङहाङ, सन्जय तामाङ र उमेश तामाङलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
उनीहरुले गत असार २८ गते फिदिमको मेन रोडस्थित होटल बाटिकामा आफुलार्ई सामूहिक बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।
अभियोगीहरुलाई तत्काल निर्दोष ठहर गर्न सकिने आधार र प्रमाण नभेटिएकाले पुर्पक्षका लागि थुनामा राख्न मनासिव हुने आदेशमा उल्लेख छ ।
प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको प्रतिवेदनमा तीन जनाले जबरजस्ती करणी गरेको र दुई जनाले मतियारको भूमिका खेलेको उल्लेख छ ।
युवतीको उजुरीका आधारमा खानतलासी गर्दा घटनास्थलमा भेटिएका कण्डम र मदिराका बोतल तथा आरोपितहरूको आंशिक स्वीकारोक्ती आदीलाई दशी प्रमाणका रूपमा उल्लेख गरिएको छ ।
बलात्कारमा संलग्न तीन जनाविरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ को दफा २१९(१),(२),(७) बमोजिम ७ देखि ५ वर्ष कैद र सामूहिक अपराधमा थप ५ वर्ष कैद सजाय माग गरिएको छ भने मतियारका रुपमा प्रयोग भएका दुई जनाविरुद्ध सोहि संहिताको दफा ३३(१),(२) र ३६(१),(२) बमोजिम सजायको माग गरिएको छ ।