• २ भदौ २०८२, सोमबार

ताप्लेजुङ गोल्डकप : आज पाँचथरले सलहेश युवा क्लबको सामना गर्दै

blog

सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बल खोस्ने प्रयास गर्दै भारत र चर्च ब्वाइजका खेलाडी । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, साउन २७ गते ।
फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा मङ्गलबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबले सलहेश युवा क्लब सिराहाको सामना गर्ने भएको छ । गत वर्ष सम्पन्न भएको दोश्रो ताप्लेजुङ गोल्ड कपको उपविजेता सिराहा र पाँचथरबिच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुन लागेको हो ।

गत वर्षको उपविजेता बनेको सिरहाले यस वर्षको उपाधि आफ्नो पोल्टामा पार्ने दाबी सहित खेलाडी मैदानमा उतार्दै छ । पाँचथरले पनि अब्बल टिमसँग आफ्नो प्रतिष्पर्धा भएकाले अनुभवी खेलाडीलाई टिममा समावेश गरेको जनाएको छ ।

आजको खेल सम्पन्न भएसँगै सेमिफाइनलको समीकरण पुरा हुनेछ । सुनसरीको द योङ ब्रदर्श इटहरी, झापाको रेड स्टार फुटबल क्लब र चर्च ब्वाइज क्लब ललितपुर सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हिजो भएको तेस्रो क्वाटर फाइनल खेलबाट १–० गोल अन्तरले ललितपुरसँग भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलको १० औँ मिनेटमा चर्च ब्वाइजका मनिष जर्घाले गरेको गोल नै जितका लागि पर्याप्त बनेको थियो । त्यस्तै सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ र झापाले सहारा क्लब पोखरालाई २–० गोल अन्तरले पराजित गर्दै पाखा लगाएको हो ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित आठ टिम सहभागी भएको प्रतियोगिताको फाइनल आगामी शनिबार (साउन ३१ गते) हुनेछ । गोल्डकपको उपाधि चुम्ने टिमले नगद सात लाख दुई हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता बन्ने टिमलाई नगद तीन लाख ५० हजार बयासी रुपियाँ प्रदान गरिने समितिले जनाएको छ । खेलको सर्वोकृष्टलाई बाइक र विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीले समेत उचित नगद पुरस्कार प्राप्त गर्ने छन् ।