• १५ चैत २०८०, बिहिबार

घोडाघोडी तालको बाँध तथा पार्क निर्माणकार्य अधुरो

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), असार ९ गते । विश्व सिमसार क्षेत्र, जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी तालको बाँध पुनःनिर्माण तथा प्रवेश पार्क निर्माणकार्य अधुरो हुँदा बर्षातमा क्षतीपुग्ने भन्दै स्थानीयहरुले सरकारलाई उचित कदम चाल्न आग्रह गरेका छन् ।

पर्यटन विभाग र घोडाघोडी नगरपालिकाको साझेदारी सहयोगमा निर्माणाधीन उक्त निर्माण कार्य रोकिएको लामो समय बितिसक्दा समेत काम पुनः शुरु नभएपछि स्थानीयमा चासो भएको हो । घोडाघोडी नगरपालिका १ का दीपक शाहले यसअघि भएको निर्माण काम एक्कासि रोकिएको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘हामी त यतै ओहोरदोहोर गरिरहन्छौं, निर्माण शुरु भएदेखि रोकिएको थिएन सकिन लागेकाबेला काम बन्द भयो, दुई महिनाभन्दा बढी भयो काम पुनः शुरु हुने छाँटकाँटै देखिएको छैन ।’ जीर्ण भएको पुरानो बाँधका कारण तालको पानी ठाउँ ठाउँबाट बगेर बाहिर गैरहेकाले बर्खामा तालमा पानी भरिएपछि ताल फुट्ने खतरा बढ्दै गएको चिन्ता स्थानीयवासीको छ ।  

‘बाँध निर्माण भइसके पनि तालको पानी निकास हुने मुख्य गेट निर्माणको काम भएको छैन, बर्षातमा पानी परेर ताल भरिँदा बनेका संरचना भत्किनुका साथै तालमा भएका महत्वपूर्ण जीवजन्तु समेत बगेर बाहिर जाने खतरा छ’ शाहले भन्नुभयो ।

गत भदौमा घोडाघोडी नगरपालिकाले बाँध पुनः निर्माण तथा प्रवेशपार्क निर्माणका लागि ठेक्का प्रक्रियाबाट श्रीदेव सिंह, अन्जु जे.बी. निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो ।   

एक करोड ९२ लाख ८४ हजार ९८८ रुपिँयामा ठेक्का सम्झौता भएको सो निर्माण कम्पनीले सम्झौता भएलगतै भदौ महिनादेखि काम शुरु गरेको थियो । वैशाख महिनाभित्र काम सम्पन्न गर्ने यसअघि नै बताएका निर्माण कम्पनीका सञ्चालक नन्दसिंह जोरा अहिले सम्पर्कविहीन हुनुभएको छ ।  

घोडाघोडी नगरपालिकाका योजना शाखाका प्रमुख सन्तोष चन्दले नगरपालिका र सङ्घीय सरकार पर्यटन मन्त्रालयको साझेदारीमा बाँध पुनर्निर्माण तथा पार्क निर्माणको योजना रहेको बताउनुभयो । उहाँले नगरपालिकाले छुट्याएको रकम लगिसकेको बताउदै संघबाट आउने रकम नआएपछि निर्माणकार्य रोकिएको बताउनुभयो । 

उहाँले भन्नुभयो  ‘नगरपालिकाबाट खर्च गरिने ८६ लाख रकम निर्माण कम्पनीले लगिसकेको छ, बाँकी एक कराेड  १५ लाख सङ्घबाट आउने रकम नआएकाले काम रोकिएको हो ।’ अघिल्लो सरकारले छुट्याएको रकम सरकार परिवर्तन भएपछि रोकिएको उहाँको भनाइ छ । यता स्थानीयले बर्खामा तालको पानी रोक्न स्थानीय सरकारले जसरी हुन्छ, वर्षा सुरु हुनुअगावै तालको गेट बन्द गर्ने व्यवस्था मिलाई क्षति हुनबाट जोगाउन सुझाव दिएका छन् ।