• २ भदौ २०८२, सोमबार

कारागार घटना : मृतक चौधरीको शव परिवारले बुझे

blog

शव लैजाँदै परिवारका सदस्य ।

अविनाश चौधरी

धनगढी, साउन २६ गते । कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा ज्यान गुमाउनु भएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको शव परिवारले बुझेका छन् । 

जिल्ला प्रशासन कार्यालयले घटनाको न्यायोचित छानबिन हुने र मृतककी १५ वर्षीया छोरीको नि:शुल्क शिक्षाका लागि पहल गर्ने प्रतिवद्धता जनाएपछि परिवारले सोमबार अपराह्न शव बुझेका हुन । 

यसअघि, हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु पर्ने मागसहित परिवारले शव उठाउन मानेका थिएनन् । 

लागुऔषध मुद्दामा सात महिनादेखि कैद भुक्तान गरिरहनू भएका चौधरीको शुक्रबारराति कैदीबिच भएको हिंसात्मक झडपमा परेर ज्यान गएको थियो । मृतकका परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपियाँ राहत सहयोग दिने निर्णय गरेको छ । 

जिल्ला प्रशासन कार्यालयमा छलफलपछि परिवारले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । 

जाहेरीपछि शवको पोष्टमार्टम गरी परिवारलाई बुझाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

मृतकका भाइ विजय चौधरीले मृतककी छोरीलाई निःशुल्क पढाउने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले प्रतिवद्धता जनाएपछि शव बुझेको बताउनुभयो । 

उहाँले आफूहरुलाई न्याय चाहिएको र टुहुरो बनेकी छोरीको शिक्षादिक्षाको नि:शुल्क व्यवस्था सरकारले गर्नु पर्ने बताउनुभयो । मृतककी छोरी आठ कक्षामा अध्ययनरत हुनुहुन्छ ।