• २ भदौ २०८२, सोमबार

१० खेलाडीमा सीमित भारत चर्च ब्वाइजसँग स्तब्ध

blog

बल खोस्ने प्रयास गर्दै भारत र चर्च ब्वाइजका खेलाडी ।

साहारा लिम्बू 

फुङलिङ, साउन २६ गते । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा १० खेलाडीमा सीमित भारत चर्च ब्वाइज क्लबसँग स्तब्ध भएको छ । 

सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा भारतको लिजेन्ड फुटबल एकेडेमी सिलिगुडी ललितपुरको चर्च ब्वाइज क्लबसँग १–० गोलले स्तब्ध भएको हो । 

जितसँगै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको छ । खेलको सुरुवाती १०औँ मिनेटमा नै चर्च ब्वाइजका मनिष जर्घाले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । 

उक्त गोल नै चर्च ब्वाइजका लागि जित सावित हुन पुग्यो । भारतका खेलाडी प्रितम वैद्यले पहिलो हाफमै रेड कार्ड प्राप्त गरी खेलबाट बाहिरिनुभएको थियो । यसपछि भारत १० खेलाडीमा सीमित भएको थियो । 

यो सँगै बुधबार हुने पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइजले सुनसरीसँगको भेट पक्का गरेको छ  । शनिबारबाट सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

बिहीबार हुने क्वाटरफाइनलको अन्तिम खेलमा सिराहाको सलहेश युवा क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथरबिच आमनेसामने हुँदै छ । प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुँदै छ । 

गोल्डकपको विजेताले सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बाइक र विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान प्राप्त गर्ने छन् ।