• १२ पुस २०८१, शुक्रबार

अफगानिस्तानका भूकम्प पीडितलाई पाकिस्तानको सहयोग

blog

इस्लामावाद, असार ९ गते । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो ।

पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएअनुसार ती सहायता सामग्रीहरुमा टेन्ट, लत्ता कपडा, खाद्यान्न र औषधि छन् ।

ती सामग्रीहरु बिहीबार नै अफगानिस्तान पुर्‍याइने तयारी गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरनजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी एक हजार जनाभन्दा बढीको मृत्यु भएको हो ।

खोस्ट प्रान्तअन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका बुधबार प्राप्त समाचारमा जनाइएको थियो । 

भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समयानुसार बिहान १.३० बजेतिर भूकम्प आएको हो ।

घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरुको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौं उद्धारकर्ता परिचालित छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो । तालिबान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।