गोरखापत्र अनलाइन
रामेछाप, साउन २४ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २६ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । शनिबार मन्थलीमा आयोजित कार्यक्रममा संस्थाले जिल्लाका दुई पत्रकारलाई नगदसहित सम्मान गरेको छ।
आदिवासी जनजातिको क्षेत्रमा खोजमूलक समाचार लेखनमा सक्रिय योगदान दिएको भन्दै नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष बद्री नयाँघरेलार्इ “खोज पत्रकारिता पुरस्कार” प्रदान गरिएको छ । सो पुरस्कार अन्तर्गत नगद रकमसहित सम्मानपत्र प्रदान गरिएको छ ।
यस्तै, नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठलाई “नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार” बाट सम्मानित गरिएको छ । फोनिज रामेछापले ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ विगत सात वर्षदेखि र ‘खोज पत्रकारिता पुरस्कार’ चार वर्षदेखि निरन्तर वितरण गर्दैआएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा “पर्यटन प्रवर्धनमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा फोनिज रामेछापका निर्वतमान अध्यक्ष नवराज श्रेष्ठले संस्थागत कार्यपत्र प्रस्तुत गर्नुभयो । सचिव सुमित्रा थोकरले पर्यटन प्रवर्धनमा पत्रकारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले मन्थली नगरपालिकाले पर्यटन विकासका लागि विभिन्न योजना बनाई कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो।
त्यस्तै, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, पूर्व अध्यक्षहरू हिमाल ढुंगेल र बद्री नयाँघरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै फोनिज रामेछापको पत्रकारिता क्षेत्रमा दिएको योगदानको प्रशंसा गर्नुभयो ।