टोपलाल अर्याल
रेसुङ्गा, साउन २४ गते । नेकपा एमाले गुल्मीले मुसिकोट नगर उपप्रमुख गंगा श्रेष्ठलाई निलम्बन गरेको छ । पार्टी पदाधिकारीको बैठकले श्रेष्ठलाई एक वर्षको लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख चक्रबन्दु भुसालले जानकारी दिनुभयो ।
पार्टी हित विपरित काम गरेको विषयमा श्रेष्ठलाई गत असार २९ गते स्पष्टीकरण सोधिएको थियो ।
श्रेष्ठले असार ३२ गते स्पष्टीकरण पेश गरेपनि पार्टी कमिटीले चित्त बुझाएको थिएन । प्रमुख भुसालले मुसिकोट नगरकमिटीको सिफारिस र आफुहरुको अध्ययनपछि निलम्बन गरिएको जानकारि दिनुभयो । धेरै विषयमा कम्जोरी देखिएको र सचेत गराउँदा पनि कार्यान्वयन नभएपछि कारबाही गरिएको भुसालले बताउनुभयो ।
श्रेष्ठले मुसिकोट नगरको बजेट निर्माणको सन्दर्भमा आफुलाई बाइपास गरेको विषयमा नेतृत्वको आलोचना गर्नुभएको थियो । नगरमा बोलेको बिषय पार्टीभन्दा मेयरको कार्यशैली बिरुद्धको भएकाले कारबाही भए सहन तयार रहेको श्रेष्ठको भनाइ छ ।
उहाँले आफुलाई कारबाहीको पत्र अझै प्राप्त नभएको बताउँदै कारबाही भएपनि पार्टी बाहिर नजाने बताउनुभयो । उहाँले भन्नुभयो, "मैले नगरभित्र पदको अधिकार खोजेको हो त्यो पार्टीलाई मन नपरेको हुनसक्छ । कारबाहीको चर्चा भएपनि स्पष्टीकरणपछि आधाकारिक केही आएको छैन ।" श्रेष्ठ नेकपा एमाले गुल्मीको जिल्ला सदस्य रहनुभएको थियो ।