गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २४ गते । स्थानीय सरकारका प्रतिनिधिहरूले मिडियालाई सही र सत्य समाचार प्रकाशन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ शाखाको आयोजनामा शनिबार यहाँ आयोजित ‘अधिकार र पहिचानका लागि जनजाति पत्रकारको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँहरूले त्यस्तो बताउनुभएको हो । आदिवासी जनजाति पत्रकारको सवालमा बजेट विनियोजन गर्न प्रस्तावसहितको विषयमा सहकार्य गर्न सकिने उहाँहरूको भनाइ छ ।
बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले उपमेयरलाई अधिकार नै कम दिएको र आदिवासीको सवालमा काम गर्न खोज्दा अवरोध र विभेद हुने गरेको बताउनुभयो । आदिवासी जनजाति पत्रकारहरू समाचारको विषयलाई लिएर नगरपालिकासँग समन्वय र सहकार्य गर्न सुझाव दिनुभयो । सबै विषय र सूचना पत्रकारलाई बोलाएर दिन सम्भव नहुने हुनाले कतिपय सूचनाहरू पत्रकार स्वयम्ले खोज्नुपर्ने उहाँको भनाइ छ ।
शङ्खरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले आदिवासी र गैर आदिवासी पत्रकारसँग नगरपालिकाले समन्वय गरिरहेको बताउनुभयो । कोही पत्रकार आर्थिक सहयोगका लागि नगरपालिका धाउने गरे पनि प्रस्तावसहित सहकार्य गर्न आएमा सहयोग गर्न सहज हुने उहाँले सुझाव दिनुभयो । आदिवासी पत्रकारको हकहितका लागि आगामी दिनमा सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नगरपालिकाले गरेको गतिविधिलाई जनतामाझ लगेर प्रचार प्रसार गर्ने काम पत्रकारले गरिरहनुभएको र त्यसका लागि नगरपालिकाले सहकार्य जारी राखेको बताउनुभयो । कहिलेकाँही गलत सूचनाहरू समाचार बन्दा नगरपालिकालाई काम गर्न समस्या हुने गरेको उहाँले सुनाउनुभयो ।
फोनिजका सङ्घीय अध्यक्ष लक्की चौधरीले पत्रकारितामा केही विकृति रहे पनि समग्र पत्रकारिता क्षेत्र जिम्मेवार रहेको बताउनुभयो । केही गलत समाचारका कारण पाठक र श्रोताहरू समस्यामा पर्ने गरेकाले पत्रकारहरू गल्ती सच्याउन जहिले तयार रहनुपर्ने बताउनुभयो । फोनिजले समग्र पत्रकारिताको प्रवर्धनमा भूमिका खेल्दै आएको र पत्रकारको पेशागत सुरक्षा, व्यावसायिकता र क्षमता अभिवृद्धिको काममा काम गरिरहेको बताउनुभयो ।
बौद्ध गुरु कोसिस लामाले पत्रकार जन्माउने काम मात्र नगरी पत्रकारको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । पत्रकार सक्षम र दक्ष भएमा पत्रकारिता क्षेत्र पनि जिम्मेवार बन्ने उहाँले बताउनुभयो ।
फोनिज काठमाडौँ शाखाका अध्यक्ष भीम लामाको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज बागमती प्रदेशका महासचिव राजु नापित लगायतले बोल्नुभएको थियो । कार्यक्रममा फोनिज बागमती प्रदेशका इन्चार्ज सुरेन्द्रभक्त श्रेष्ठ, फोनिज जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।