• ७ वैशाख २०८१, शुक्रबार

मल्टिप्लेक्सको बढ्दो आकर्षण

blog

काठमाडौँ, असार ९ गते । पछिल्लो समय नेपालका चलचित्र भवन अत्याधुनिक र सुविधासम्पन्न बन्दै गइरहेका छन् । काठमाडौँसहित नेपालका मुख्य सहरमा सुविधासम्पन्न हल खुल्ने क्रम निकै बढेको छ । चलचित्र भवन सिङ्गल स्क्रिनबाट मल्टिप्लेक्समा परिणत हुने क्रम जारी छ । जमलको विश्वज्योति हल अहिले मल्टिप्लेक्समा परिणत भएको छ ।

सिङ्गल स्क्रिनबाट मल्टिप्लेक्समा जानुको कारण समयको माग नै भएको विश्वज्योति चलचित्र भवनका सञ्चालक मोहन सराफ बताउनुहुन्छ । “हामीलाई लगानी उठाउन पक्कै केही समय लाग्छ तर दर्शकको माग र समयअनुसार प्रविधिमा आएको परिवर्तनले हामीलाई मल्टिप्लेक्सतर्फ आकर्षित गरेको हो,” सराफले भन्नुभयो ।

दर्शकको आकर्षण बनेका धेरै सुविधासम्पन्न सिनेमा भवनले अहिले केही सीमित मात्रामा सञ्चालनमा आएका सिङ्गल थिएटरहरूलाई विस्थापित गर्दै गइरहेको छ । सबैतिर मल्टिप्लेक्सले कब्जा जमाउन थालेपछि सिङ्गल थिएटर सहरहरूबाट लगभग पलायन जस्तो भएका छन् भने केही ग्रामीण भेगमा चलेका हलहरूको अवस्था पनि निकै नाजुक छ । मल्टिप्लेक्स बनाउँदा केही बढी खर्च हुने भए पनि दर्शकको भीड बढेको र राम्रा तथा स्तरीय चलचित्र प्रदर्शन भएको खण्डमा लगानी केही वर्षमा नै सुरक्षित हुने हल सञ्चालकको भनाइ छ । 

दरबारमार्गमा अवस्थित क्युज सिनेमाज्का अध्यक्ष सुमित मैनाली दर्शकको मागअनुसार नै मल्टिप्लेक्सको विस्तार हुँदै गइरहेको बताउनुहुन्छ । “अब सिङ्गल थिएटरको जमाना छैन, दर्शक धेरै बुझ्ने हुनु भइसक्यो,” उहाँ भन्नुहुन्छ, “च्यतिएका कुर्सी र सानो स्क्रिनमा कसलाई चलचित्र हेर्न मन हुन्छ र ? तर यसको यो मतलब होइन कि सिङ्गल स्क्रिनलाई मल्टिप्लेक्सले विस्थापित ग¥यो । यो सब समयअनुसारको माग हो ।” 

आजभोलि धेरैमा रमाइलो गरौँ भन्ने भावनाको पनि विकास भएको छ, त्यसका लागि सुविधासम्पन्न मल्टिप्लेक्स नै दर्शकको रोजाइ बन्ने गरेको न्युरोडस्थित रञ्जना सिनेमा भवनका सञ्चालक नरेन्द्र महर्जन बताउनुहुन्छ । उहाँका अनुसार सामान्य हलको तुलनामा मल्टिप्लेक्समा चलचित्र हेर्दा बढी रमाइलो अनुभूति पाइने भएकाले दर्शकको रोजाइमा मल्टिप्लेक्स पर्ने गरेको छ । लगानी गरेअनुसार आम्दानी हुने भएपछि देशका मुख्य सहरमा मल्टिप्लेक्सको बाढी नै आएको महर्जनले बताउनुभयो । 

उपत्यकामा मात्रै होइन, मोफसलको ठूला सहरहरूमा पनि मल्टिप्लेक्सको क्रेज बढ्दो छ । नारायणघाट, पोखरा, इटहरी, बुटवल, नेपालगञ्ज, वीरगञ्ज, विराटनगरलगायतमा सुविधासम्पन्न मल्टिप्लेक्स खुलिसकेका छन् । चलचित्र वितरक करण श्रेष्ठ भन्नुहुन्छ, “समयको मागअनुसार यसरी मल्टिप्लेक्स हल खुल्ने क्रम बढेको हो ।

” श्रेष्ठका अनुसार देशका लगभग सबै प्रमुख सहरमा मल्टिप्लेक्स हल खुलिसकेका छन् भने केही खुल्ने क्रममा छ । देशैभर मल्टिप्लेक्स हल तीव्र रूपमा खुल्दै जाँदा पुराना मोडलका हललाई केही सुधार गरी सञ्चालनमा ल्याउने हो भने हल सञ्चालकको करोडौँको लगानी सुरक्षित हुने श्रेष्ठको भनाइ छ । 

अहिले धेरैको चाहना मल्टिप्लेक्समा बढ्नुको कारण यसको प्रविधिक पक्ष अन्तर्राष्ट्रिय स्तरको हुनु पनि हो । बिग सिनेमा, क्युएफएक्स, क्युज सिनेमा, विश्वज्योतिलगायतका हलले आवाज तथा दृश्यको उत्कृष्ट संयोजनमा विशेष ध्यान दिई गुणस्तर पस्कन उत्कृष्ट प्रविधि जडान गरेका छन् । 

यस्तै अहिले धमाधम खुलिरहेका मल्टिप्लेक्सका कारण निर्माताले पनि राम्रै आम्दानी गरिरहेको देखिन्छ । यसले दर्शकले सुविधा र रोजाइ पाएका छन् भने नयाँ दर्शक पनि मल्टिप्लेक्सले नै जुटाइदिएको छ । चलचित्रकर्मीका अनुसार सुविधाका लागि दर्शकहरू महँगो शुल्क तिर्न पनि तयार छन् । फेरि यता मल्टिप्लेक्सवालाको आम्दानी चलचित्रको पर्दाले मात्र होइन, रेस्टुरेन्ट, सपिङ सेन्टरले पनि बढाइरहेका छन् ।

Author

सुकृत नेपाल