• २३ साउन २०८२, शुक्रबार

ताप्लेजुङ गोल्डकप : तेल्लोक र इटहरीले उद्घाटन खेल खेल्ने

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २३ गते। ताप्लेजुङमा शनिबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल स्थानीय तेल्लोक स्पोर्टिङ क्लब र सुनसरीको द योङ ब्रदर्स क्बल इटहरीले खेल्ने भएको छ। द योङ ब्रदर्ससँग तेल्लोक स्पोर्टिङ क्लबले आयोजक टोलीको रुपमा उद्घाटन खेल खेल्ने भएको हो।

आयोजक लाखेजात्रा सञ्चालन समितिले शनिबार उद्घाटन हुने प्रतियोगिताको तयारी करिब पूरा भएको जनाएको छ। प्रतियोगिता सञ्चालन हुने भानुजन माध्यमिक विद्यालयको खेल मैदानमै शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै समितिले सामान्य केही कामबाहेक प्रतियोगिताका लागि अन्य तयारी पुरा भएको जानकारी दिएको छ।

समितिका अध्यक्ष सागर मादेनले प्रतियोगिताको तयारीमा बाँकी रहेका सबै काम साँझ सम्ममा सम्पन्न गरिने जानकारी दिनुभयो। शनिबार हुने उद्घाटन खेल दिउँसो २ बजेदेखि सुरु गर्ने आयोजकको तयारी रहेको पनि समितिका अध्यक्ष मादेन बताउनुभयो। उहाँका अनुसार उद्घाटनपछिका प्रत्येक दिनको खेल दिउँसो २ बजेदेखि नै सुरु गरिने छ।

यसवर्ष प्रतियोगितामा भारत, सिलगुढीको लेजण्ड फुटबल एकेडेमीसहित चर्च ब्वाइज फुटबल क्लब, पोखराको क्लब पोखरा, रेड स्टार फुटबल क्लब, सिराहाको सलहेश युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब सहभागी हुँदै छन्। आयोजक टोलीका रुपमा सहभागी हुने तेल्लोक स्पोर्टिङ र द योङ ब्रदर्स क्लबसमेत आठ टोलीले प्रतिस्पर्धा गर्ने समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो।

यसवर्ष प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ। उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ राशिको नगद पुरस्कार प्राप्त गर्ने समितिका कोषाध्यक्ष शेर्पाले बताउनुभयो। उहाँका अनुसार प्रतियोगिता उत्कृष्ट छनोट हुने खेलाडीले १५० सिसिको यामाहा कम्पनीको मोटरसाइकल पनि प्राप्त गर्ने छ। प्रतियोगिता भने साउन ३१ गते सम्पन्न हुने छ। हरेक वर्ष लाखेजात्रा पर्वको अवसरमा प्रतियोगिता आयोजना गर्ने गरिएको छ।