• २३ साउन २०८२, शुक्रबार

क्वाँटीको झोलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

blog

काठमाडौँ, साउन २३ गते । जनैपूर्णिमा क्वाँटी खाएर मनाउने गरिन्छ । विभिन्न नौ थरीका गेडागुडीलाई रातभरि पानीमा भिजाएर टुसा उमारी सुप बनाएर खाइने परिकारलाई क्वाँटी भनिन्छ । 

क्वाँटी चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउलगायतका गेडागुडी मिसाएर टुसा उमारेर तयार गरिन्छ । 

“क्वाँटी” शब्द नेपाल भाषाको “क्वाति” शब्दबाट आएको हो । जसको अर्थ “क्वा” भनेको तातो र “ती” भनेको झोल वा सुप हो ।  नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा प्रदान गर्न र शरीरमा भएको चिसो भगाउन जनैपूर्णिमा क्वाँटी खाने परम्परा सुरु गरिएको जनविश्वास छ ।

विभिन्न प्रकारका गेडागुडी मिसाएर बनाउने क्वाँटी खाँदा जति स्वादिलो हुन्छ स्वास्थ्यका हिसाबले त्यति नै फाइदाजनक हुने पोषणविद् बताउँछन् ।  

पोषणविद् डा.उमा कोइरालाले क्वाँटी केवल परम्परागत परिकार मात्र नभई पोषणले भरिपूर्ण स्वास्थ्यवर्धक खाना भएको बताउनुहुन्छ । उहाँका अनुसार क्वाँटी धेरै किसिमका गेडागेडी मिश्रित हुँदा यो उच्चस्तरीय खानेकुरामध्येको एक हो । 

टुसा उमारिएका गेडागुडीमा भिटामिन, मिनिरल्स, फाइबर, प्रोटिन, भिटामिन बी, आइरन, क्याल्सियम, जिंक, एन्टिअक्सिडेन्ट्स लगायतका पोषक तत्व पाइने पोषणविद् कोइरालाको भनाइ छ ।  

उहाँका अनुसार क्वाँटी सबै उमेर समूहलाई फाइदाजनक मानिन्छ । गर्भवती, सुत्केरी, युवा, बालबालिकाका, पोषणको अवस्था न्यून पोषण भएका, रक्तअल्पताका, कुपोषणको समस्या भएकालाई क्वाँटी निकै लाभदायी हुने पोषणविद् कोइराला बताउनुहुन्छ ।  

पोषणविद् कोइरालालका अनुसार उमारिएको क्वाँटीमा कार्बाेहाइड्रेड र चिनीको मात्रा कम हुने हुँदा मधुमेहका बिरामीका लागि उपयुक्त हुन्छ । 

 उच्च रक्तचाप, मिर्गौलाका बिरामीले चिकित्सकको सल्लाहमा मात्रै क्वाँटी खान उहाँको सुझाव छ। 

 क्वाँटीको झोलले आमाको दूध उत्पादन गर्न मद्दत गर्छ । क्वाँटीको झोलले रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक खानेकुरा हो । अङ्कुरित गेडागुडीबाट बनाइएको हुँदा क्वाँटी सजिलै पच्ने गर्छ । अङ्कुरित गेडागुडी प्रशस्त मात्रामा फाइबर हुने हुँदा पाचन प्रणाली सुधार गर्ने गर्छ । 

 क्वाँटीले रोगसँग लड्ने क्षमता बढाउने, शरीरमा ऊर्जा प्रदान गर्ने र सङ्क्रमणजन्य रोगबाट बचाउने पोषणविद् कोइराला बताउनुहुन्छ । 

क्वाँटी रेसादार हुने हुँदा कब्जियत हुनबाट छुट्कार पाउन सकिन्छ । क्वाँटीले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कुपोषण हुनबाट बचाउने गर्छ । 

क्याल्सियम र फस्फोरस हुने हुँदा हड्डी बलियो बनाउने गर्छ । क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन हुने हुँदा मांसपेशीलाई वृद्धि गराउने पोषणविद् कोइरालाको भनाइ छ । क्वाँटीमा मिटामिन सी अत्यधिक मात्रा पाइने हुँदा रुघाखोकी लागेका, रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई निकै लाभदायी हुन्छ । उहाँका अनुसार दिनमा एकपटक क्वाँटी खाँदा शरीरमा पोषण परिपूर्ति हुन्छ । 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।