• २३ साउन २०८२, शुक्रबार

बारामा नब्बे प्रतिशत धान रोपाइँ

blog

कलैया समाचारदाता

बारा, साउन २३ गते । पछिल्लो वर्षाले किसानलाई ठुलो राहत भएको छ भने रोपाइँको कामले पनि गति लिएको छ । बारा जिल्लाको धान खेतीयोग्य ९० प्रतिशत जग्गामा धान रोपाइँको कार्य सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

लामो समयदेखि वर्षा नभई खडेरी अवस्थामा कृषकले आफ्नो साधनस्रोतले भूमिगत सिँचाइबाट गरेको धान रोपाइँ पनि घामले सुक्न थालेकोमा साउन १६ गतेदेखि भएको वर्षाले रोपोलाई ठुलो राहत पु¥याएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिनुभएको छ । 

वर्षा भएपछि बाँकी रहेका क्षेत्रमा किसान धान रोपाइँ गर्ने कार्यमा व्यस्त रहेको सिम्रौनगढ नगरपालिका–८, कर्चोवाका किसान रामबहादुरप्रसाद यादवले बताउनुभयो । 

यस वर्ष जिल्लामा विभिन्न जातका बर्खे धान (भदैया–अगनी) ४६ हजार हेक्टर क्षेत्रफलमा लगाउने लक्ष्य रहेकोमा हालसम्म जम्मा ९० प्रतिशत रोपाइँ भइसकेको तथा बाँकी रहेको १० प्रतिशत क्षेत्रफलमा पनि यसै साताभित्र सम्पन्न हुने केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ गणेश महराले जानकारी दिनुभयो ।

सरकारले मधेश प्रदेशसहित बारा जिल्लालाई सुक्खा क्षेत्र घोषणा गरेपछि किसानको समस्या समाधान गर्न सुक्खा एवं खडेरीबाट तत्काल राहतका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत खोलेको सातदिने म्यादको अवधिमा करिब दुई हजार ३९८ जना किसानले आवेदन दिएको उहाँले बताउनुभयो । 

पर्सा समाचारदाता कन्हैयालाल केशरीका अनुसार पर्सा जिल्लामा चार दिनदेखि लगातार परेको पानीले पर्सा जिल्लाको धान खेतीयोग्य जग्गामध्ये ९२ प्रतिशतमा रोपाइँ भएको छ । बाँकी रहेकोमा केही दिनभित्रै रोपाइँ हुने कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले बताउनुभयो ।

प्रमुख ठाकुरका अनुसार आकासे पानीको भरमा रोपाइँमा ढिलाइ भए पनि पछिल्लो चार दिनदेखिको वर्षाले धान खेतीमा सहजता ल्याएपछि हालसम्म पर्सा जिल्लामा ३६ हजार ५५३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको बताउनुभयो ।