पञ्चकोशी समाचारदाता
पञ्चकोशी (दैलेख), साउन २३ गते । दैलेखको नारायण नगरपालिका–१ स्थित गणेशचोकनजिकै बसोबास गर्दै आएका नमुना बस्तीका बादी समुदाय सुरक्षित बासको खोजी गर्न थालेका छन् । बादी समुदायले आफ्नो बस्ती जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा आफ्नो बस्ती सार्नका लागि सबै पक्षसँग माग गरेका छन् ।
पछिल्ला दिनमा भइरहेको लगातार बर्सातका कारण भिरालो जमिनमा निर्माण गरिएका कच्ची घरटहरा भत्किने डरले केही दिनदेखि रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको नमुना बस्तीका सुकलाल बादीले बताउनुभयो । उहाँले यसको दिगो व्यवस्थापन गरिनुका साथै सुरक्षित वासस्थानको व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले आवश्यक सहयोग गर्ने र सुरक्षित बसोबासका लागि तिनै तहका सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले दिनभर काम गरेर घरमा पुगेपछि बासको समस्या हुने गरेको बताउनुभयो । १० जनाको घरपरिवार रहेको सुकलाल बादीको बर्सातका कारण घरभित्र पानी पस्न सुरु हुनेबित्तिकै रातभरि जाग्राम बस्नुपर्ने बाध्यता छ ।
यस्तै पहिरोले बर्सेनि घरपरिवार विस्थापित हुनुपर्ने बाध्यता रहेको नमुना बस्तीमा बसोबास गर्दै आउनुभएकी ७५ वर्षीय धनकला बादीले बताउनुभयो । आफूसँग भएको त्यही एउटा घर पनि पहिरोको जोखिममा परेपछि रातमा निद्रा नलाग्ने दुःखेसो उहाँले सुनाउनुभयो ।
जोखिममा रहेका सात घरमा बसोबास गर्दै आउनुभएका बादी समुदायदाई सुरक्षित स्थानमा सार्ने गरी ठाउँको खोजी भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । उहाँले पीडितको अवस्था हेरेर तत्काल समाधान गर्नुपर्ने समस्यालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने उल्लेख गर्नुभयो ।